वीरहरू निबन्धमा कोशीय संसक्ति
DOI:
https://doi.org/10.3126/ire.v9i1.69745Keywords:
कोशीय पद, पर्याय, पुनरुक्ति, विन्यास, संसक्तिका युक्तिAbstract
प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाको ‘वीरहरू’ निबन्धमा प्रयुक्त कोशीय संसक्तिका विभिन्न पक्षहरूबाट उक्त निबन्धको पाठलाई अर्थयुक्त सङ्कथनका रूपमा सिर्जना गर्ने एकीकृत शक्तिको अध्ययन गरिएको छ । कोशीय संसक्तिले पाठलाई कोशीय पदहरूको आर्थतात्त्विक आधार लिएर विचारमा केन्द्रित गर्छ । ‘वीरहरू’ निबन्धमा वीरहरूको स्वार्थरहित कार्य, उनीहरूले मान्छेको मनमा बनाएको उच्च स्थान र मार्गचित्रका निम्ति लिने प्रेरणात्मक वैचारिकतालाई प्रभावकारी अर्थयुक्त बनाउन यसका वाक्यगत, अनुच्छेदगत र कृतिगत शब्दशृङ्खलाले खेलेको भूमिका कोशीय शब्दको चयन र संसक्तिबाट उद्घाटन भएको छ भन्ने प्रस्ट पार्दै पाठको एकीकृत शक्तिले वक्ताको मनसाय र पाठकमा पर्ने प्रभावकारिताबिच सम्बन्ध स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसको सैद्धान्तिक ढाँचाको रचना गर्दा सङ्कथन विश्लेषणको पद्धति अवलम्बन गरिएको छ । त्यसमा पनि कोशीय संसक्तिका विभिन्न युक्तिहरूको अध्ययनका निम्ति चाहिँ ह्यालिडे र हसन (सन् १९७६) र म्याक्कार्थी (सन् २०१०) का भाषिक प्रकार्यपरक मान्यताबाट विश्लेषणको मूल आधार लिई गुणात्मक शोधपद्धतिमा चयन गरिएका पाठको सघन विश्लेषण गरिएको छ । यसमा कोशीय पद, पुनरुक्ति र विन्यास गरी तीन ओटा उपकरणअन्तर्गत अर्थतात्त्विक एकत्वको विश्लेषणसहित निष्कर्षसम्म पुग्ने मार्ग अवलम्बन गरिएको छ । यसबाट कोशीय शब्दशृङ्खलाको समुचित आयोजनाबाट निबन्धको केन्द्रीय अर्थको स्थापना र प्रबल प्रभाव सिर्जना भएको हुन्छ भन्ने स्पष्ट पारिएको छ । ‘वीरहरू’ निबन्धमा प्रयुक्त वक्ताले वीरहरूप्रति प्रकट गरेको आस्था, प्रशंसा र तिनलाई सांसारिक लोलुपतायुक्त व्यक्तिसँग गरेको तुलना संसक्त बनाउने, काव्यिक सौन्दर्य बढाउने र पाठकमा दीर्घकालीन प्रेरणा दिने कार्यमा शब्दभण्डारबाट पुनरुक्ति एवम् विन्यास प्रयुक्त उपयुक्त अर्थयुक्त शब्दहरूको छनोटले महत्त्व पाएको हुँदा यो निबन्ध विचारको प्रवाहपूर्ण सम्प्रेषणमा शक्तिशाली बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।