आषाढको पन्ध्र निबन्धमा अभिव्यक्त ध्वनिसौन्दर्यको शैक्षणिक उपादेयता
DOI:
https://doi.org/10.3126/ire.v8i1.56721Keywords:
अभिधा, ध्वन्यार्थ, प्रतीयमान, लक्षणा, व्यञ्जनाAbstract
प्रस्तुत लेख निबन्धकार लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘आषाढको पन्ध्र’ निबन्धमा आधारित छ । आचार्य आनन्दवर्धनद्वारा प्रतिपादित ध्वनि सिद्धान्तका आधारमा उक्त निबन्धमा अभिव्यक्त ध्वन्यार्थ पहिचान गरी त्यसको साहित्यिक प्रयोजन एवम् कलात्मक रूपान्तरणको विश्लेषण गरी शैक्षणिक उपादेयता ठम्याउनु यस लेखको उद्देश्य हो । यस अध्ययनमा पूर्वस्थापित सिद्धान्तका आधारमा तथ्यविश्लेषण गरिएको हुँदा मूल रूपमा निगमनात्मक विधिको प्रयोग गरिएको छ अनि साक्ष्यहरूको प्रस्तुति र स्पष्टीकरणका लागि आगमनात्मक विधिकोे समेत उपयोग गरी कृतिविश्लेषणको ध्वनिवादी पद्धतिका आधारमा निबन्धको विश्लेषण गरी त्यसलाई शैक्षणिक सन्दर्भसँग आबद्ध गरिएको छ । प्रथम आधुनिक आत्मपरक निबन्धरचना भनेर चिनिने ‘आषाढको पन्ध्र’ मा स्वच्छन्दतावादी विचारलाई निबन्ध संरचनामा संश्लेषण गरेर प्रस्तुत गरिएको छ । यसमा विचारको कलात्मक रूपान्तरण भएको छ र त्यसो हुनुमा ध्वनिसामथ्र्यले सघाएको छ । आगतप्रति निश्चिन्त रही विगतबाट सिक्दै वर्तमानमा कर्मशील र अकृत्रिम तरिकाले बाँच्नु नै जीवनको सार्थकता हो भन्ने अभिप्राय निबन्धमा ध्वनित भएको छ । अतः ध्वनिसौन्दर्य एवम् कलात्मक मूल्यका दृष्टिले ‘आषाढको पन्ध्र’ निबन्धको स्थान उच्च छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । विधा शिक्षणका सन्दर्भमा शब्दभण्डार वृद्धिका साथसाथै भाषाको सिर्जनात्मक समीक्षात्मक अभिव्यक्ति कौशलको विकासका लागि विवेच्य निबन्धको शिक्षणबाट प्रचुर सहयोग लिन सकिने प्रस्तुत अध्ययनको निष्कर्ष रहेको छ ।