प्रयोग सापेक्षमा भाषाको अस्तित्व
DOI:
https://doi.org/10.3126/ire.v7i2.50467Keywords:
भाषिक अवलम्बन, भाषिक स्वीकरण, भाषिक अपक्षयAbstract
मानिससँग भाषाको अभेद्य सम्बन्ध छ । भाषाको गति वा अस्तित्व मानिसको भाषिक व्यवहारमा आधारित हुन्छ । भाषाको अस्तित्वका सवालमा सचेतवर्ग विशेष संवेदनशील बन्नु आवश्यक छ । यस लेखको मूल उद्देश्य भाषाको अस्तित्व, जीवन तथा मृत्युका सन्दर्भमा सैद्धान्तिक स्वरूप उल्लेख गर्दै तिनको पुस्ट्याईँका लागि तथ्यपरक उदाहरणसमेत प्रस्तुत गर्नु हो । यो लेख पूर्णतः गुणात्मक ढाँचामा तयार पारिएको छ । यसमा भाषाको अस्तित्वसँग सम्बद्ध भाषिक अवलम्बन, भाषिक स्वीकरण, भाषिक अपक्षय, भाषिक मृत्युका बारेमा चर्चा गरिएका सैद्धान्तिक ग्रन्थ एवम् तीन जना भिन्न भाषीसँग गरिएको संवादलाई प्रमुख स्रोत सामग्री बनाइएको छ । विश्वका अधिकांश भाषाहरू जस्तै नेपालका अधिकांश भाषाहरूको पनि पहिचान र अस्तित्व सङ्कटोन्मुख छ । नेपालका सबै राष्ट्रभाषालाई समाज तथा समुदायले विशेष पहिचान दिने र राज्यका विभिन्न संरचनाबाट त्यस्ता भाषाको संरक्षण एवम् प्रवर्धनमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ । प्रत्येक मातृभाषी आआफ्ना भाषाको अवलम्बन गर्दै अन्य भाषाको अनावश्यक स्वीकरणको दिशाबाट विमुख हुन सकेमा मात्र नेपालका कुनै पनि भाषा मृत्युको मुखमा पर्दैनन् र सबै भाषाको संरक्षण एवम् प्रवर्धन हुने सम्भावना रहन्छ । तसर्थ प्रत्येक भाषाका मूल वक्ताहरूले आआफ्नै भाषाका माध्यमबाट भाषिक व्यवहार गर्दै आआफ्ना भाषाप्रति सचेततापूर्वक समर्पित हुनु आवश्यक छ । साथै, यस सवालमा राज्यसंयन्त्र, अनुसन्धाता एवम् प्राज्ञिक व्यक्तित्वहरूको पनि प्रमुख भूमिका हुने भएकाले संवेदनशील बन्नु आवश्यक देखिन्छ ।