पशुपतिनाथको आधुनिककालीन इतिहास
DOI:
https://doi.org/10.3126/hisan.v11i1.92798Keywords:
तुलादान र जात्रा, फकिर, मनसुवा, अष्टमूर्तिAbstract
आधुनिककालका सबै राजामहाराजा र शासकहरूले पशुपतिनाथलाई देशकै मूल देवताको रूपमा मानेको पाइन्छ । शाहवंशले पशुपतिनाथलाई संरक्षक देवताको रूपमा मानेका थिए । पृथ्वीनारायण शाह नेपालको राजा हुनुअघि काठमाडौं उपत्यका वाहेकका भक्तजनले पशुपतिनाथ प्रवेश नपाउने चलन थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि पशुपतिनाथ गोरखा राज्यको अधिनमा आएकाले शाहवंश आफै सनातनी धर्मप्रति उदार भएर पशुपतिनाथको दर्शन सबैका लागि खुला गरेका थिए । विभिन्न भक्त र राजामहाराजाले वेलावेलामा पुण्य आर्जन गर्ने मनसायले पशुपतिनाथ मन्दिरभित्र अनेक प्रकारका देवी देवताका प्रतिमा स्थापना गर्ने, घण्ट, तोरण र अन्य धार्मिक महत्त्वका सामग्रीहरू चढाउने, ढोका, झ्याल र अन्य महत्त्वपूर्ण भागहरूमा सुनचाँदी तथा अन्य धातुले सिङ्गार्ने कामहरू गरेको पाइन्छ । शाहकालीन राजाहरू श्री ५ राजेन्द्र वीरविक्रम शाहदेखि श्री ५ त्रिभुवन विक्रम शाहसम्मको नाममा अलगअलग शिव मन्दिरहरू स्थापना गरिएको घटनालाई हेर्दा शैव धर्मको विकासमा उनीहरूले पु¥याएको योगदान बुझिन्छ । शाहकालीन राजाहरूले मन्दिर बनाउँदा आफूलाई ‘शिवजीका पाउरूपी कमलका धूलाले पवित्र भएको’ भनी लेखाएकाले उनीहरू भगवान् शिवलाई मान्दथे भन्ने देखिन्छ । काठमाडौं उपत्यकाका सातवटा संरक्षित स्मारक क्षेत्रहरूलाई एउटै रूपमा काठमाडौं उपत्यका विश्वसम्पदा स्थल भनी युनेस्कोले विश्व सम्पदा सूचीमा सन् १९७९ मा सूचीकृति गर्दा सातमध्ये पशुपतिनाथ मन्दिर समेत परेको थियो । नेपालमा राजपरम्पराको अन्त्य पछि पशुपति क्षेत्र विकास कोषले तय गरेका उद्देश्य अनुसार महाशिवरात्री, बालाचतुर्दशी, बोलबम, साउने सोमबार र हरितालिका तीज पर्व व्यवस्थापन गर्ने मूख्य काम गर्दै आएको छ । यसवाहेक स्थानीय जात्रा पर्वहरू, घाट र शवदाह व्यवस्थापन समेत गरिरहेको छ । कोषले मृगस्थली र गुह्येश्वरी मन्दिर हेरचाहदेखि पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तको स्वागत तथा बासस्थान र विदाईको प्रबन्ध मिलाउनेदेखि पशुपति वाग्मती गंगा आरती व्यवस्थापन समेत गरिरहेको छ ।