चमार जातिको इतिहास
DOI:
https://doi.org/10.3126/hisan.v10i1.74936Keywords:
कर्मकाण्ड र ग्राममूली, चर्मकार, गोत्र, शूद्रAbstract
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर नेपालमा प्रवेश गरेर तराई र मधेसका बस्तीहरूमा बसोबास गरेका हुन् । यस जातिलाई नेपालको पहाडी क्षेत्रमा सार्की, हरिजन भनिन्छ भने तराईका विविध क्षेत्रमा यिनीहरूलाई चमार, राम, हरिजन र रविदास भनेर सम्बोधन गरिन्छ । चमार जातिको चर्चा आर्य सनातन हिन्दु धर्म, वर्णव्यवस्था, धर्मग्रन्थ, रामायण र महाभारत, पुराण र उपनिषद र वंशावलीहरूमा पनि पाइएको छ । नेपाली सभ्यता तथा संस्कृतिभित्र अनेकौं जातीय समूहहरूको सिर्जना र संरचना हुँदै दलित समुदाय र अछुत जातिको रूपमा हेरिएको छ । चमार समुदायलाई कसैले भारतमा भएको मुस्लिम आक्रमणपश्चात् ज्यान बचाउन जसरी अन्य जातिका मानिसहरू नेपालको सरहदभित्र पसे, त्यसैगरी यिनीहरू पनि नेपालको तराई प्रदेशमा चमार नामले र पहाडमा सार्कीका नामले हजारौँ वर्षपहिले नेपाल प्रवेश गरेको वर्णन पाइन्छ । असली तराई मूलका चमार जातिका मानिसहरूको बसोवास पूर्वी तराईदेखि पश्चिम तराईका जिल्लाहरूका विविध गाउँठाउँमा रहेको पाइन्छ । यी चमार जातिका मानिसहरूको उत्पत्तिलाई हेर्दा भारतस्थित उराँव र मुण्डा समूहहरूसँगै नागपुर क्षेत्रबाट नेपाल पसेको वर्णन पनि पाइएको छ । इतिहास हेर्दा मुस्लिम धर्मको घोर विरोध गर्ने जति पनि हिन्दुहरू थिए, उनीहरूलाई इस्लामिक कालमा निम्न श्रेणीमा गणना गर्ने उर्दी फिँजाइयो । जसले इस्लाम धर्म वरण गर्दथ्यो उसलाई उच्च स्थान र जसले हिन्दुधर्म वरण गर्दथ्यो उसलाई निम्न जातमा परिणत गरियो र मृत्युदण्ड दिन असम्भव भएर उनीहरूलाई विद्रोही मानेर सजायस्वरूप क्षेत्रीय कुलका चंवर जातिका मानिसहरूलाई दण्ड स्वरूप पशुको छालाको काममा संलग्न गराइयो । ती चर्मकारहरू नै चमार भएका हुन । नेपालमा रहेका चमार जातिको इतिहास खोतल्दा उनीहरूको जातिय वर्ण व्यवस्थाको उत्पत्ति भएदेखि नै नेपालको तराई भुभागमा बस्दै आएको पाइन्छ भने केही भारतबाट विभिन्न कालखण्डलाई कोही जमिन्दार, राजा रजौटाहरूसंगसंगै लागेर र त कोही आफै जीवन निर्वाहको विकल्प खोज्दै बसाई सरेर नेपालको तराईभागमा आएको पाइएको छ । प्रस्तुत अध्ययनको उद्देश्य चमार जातिको इतिहास उजागर गर्नु रहेको छ ।