आहुतिको ‘ठेस’ कवितामा लयविधान {The rhythmic structure in Aahuti’s poem ‘Thes’}
DOI:
https://doi.org/10.3126/cognition.v8i1.89804Keywords:
अनुप्रास, , पङ्क्तिविन्यास, , विचलन, , समानान्तरता, , सामन्तवादAbstract
प्रस्तुत अनुसन्धात्मक लेखमा आहुतीको ‘ठेस’ कवितालाई पाठका रूपमा लिई त्यसलाई लयविधानका दृष्टिले विश्लेषण गरिएको छ । लय कवितालाई अन्य विधाबाट छुट्याउने मूल तत्त्व हो । प्रस्तुत लेखमा विश्लेषित कवितामा गद्यलयको प्रयोग गरिएको छ । ‘ठेस’ कवितामा लयविधानको स्वरूप कस्तो छ र लयले कविताको भावसौन्दर्यलाई कसरी प्रभावित पारेको छ भन्ने मूल समस्याको समाधान गर्नु यस लेखको उद्देश्य रहेको छ । यसमा आधारभूत र सन्दर्भ गरी दुई स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । ‘ठेस’ कवितालाई लयविधानका दृष्टिले विश्लेषण तथा मूल्याङ्कन गर्ने मुख्य आधार पङ्क्तिबद्धता, समानान्तरता, विचलन, अनुप्रास, लेख्य चिह्नको प्रयोग, अनुकरण, लयगत एकत्व रहेका छन् । कवितामा पङ्क्तिविन्यास अनियमित र असमान भए पनि यही असमानताले मुक्त लयको स्वाभाविक लयप्रवाह निर्माण गरेको छ । ‘ठेस’ र ‘ढुङ्गा’ जस्ता शब्दहरूको बारम्बार प्रयोगले पदावलीगत समानान्तरता सिर्जना गर्दै जीवनका अवरोध र पीडाको निरन्तरता उजागर गरेको छ । वाक्यगत समानान्तरताले कारण–परिणामबीचको सम्बन्धलाई स्पष्ट पार्दै सङ्घर्षपछिको प्रगतिको जीवनदृष्टि प्रकट गरेको छ । पदक्रम विचलनले विशिष्ट शब्दमा बलाघात दिँदै ध्वन्यात्मक आरोहअवरोहलाई प्रभावशाली बनाएको छ, जसले कवितालाई थप लयात्मक बनाएको छ । अनुप्रासका सानातिना प्रयोगहरूले कविताको ध्वन्यात्मक माधुर्य बढाएका छन् । यद्यपि अनुकरणात्मक शब्दहरूको प्रयोग छैन तर पङ्क्तिविन्यास, समानान्तरता, विचलन, अनुप्रास र लेख्य चिह्नको संयुक्त प्रभावले कवितामा मुक्त गद्यलयको एकीकृत रूप निर्माण भएको छ । ‘ठेस’ कविताले सङ्घर्ष र पीडामार्फत गन्तव्य नजिकिने जीवनबोधलाई लयात्मक सौन्दर्यका साथ प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।