माधवी उपन्यासमा मिथकीय बिम्ब {Mythical Imagery in the Novel Madhavi}
DOI:
https://doi.org/10.3126/cognition.v7i1.74800Keywords:
आदिम मानव, आद्यचरित्र, आद्यबिम्ब, उपजीव्य ग्रन्थ, यायावरीय पात्र, श्यामकर्ण घोडाAbstract
प्रस्तुत लेख मदनमणि दीक्षितद्वारा लिखित माधवी उपन्यासको मिथकीय अध्ययनमा केन्द्रित छ । शब्दका माध्यमबाट मस्तिष्कमा पर्ने कुनै पनि वस्तुको छायाँ वा चित्र बिम्ब हो भने त्यस्ता चित्रात्मक गुण भएका बिम्बहरूको निर्माण प्रक्रिया नै बिम्बविधान हो । मिथकीय समालोचनाले कृतिमा प्रयुक्त मिथकको मूल रूपको खोजी, परिवर्तित प्रसङ्ग, आद्यरूपीय चरित्र, मिथकीय परिवेश, मिथकीय बिम्बविधान, मिथकीय सान्दर्भिकता आदिजस्ता पक्षहरूको अध्ययन गर्ने भए तापनि यो लेख मिथकीय बिम्बमा केन्द्रित छ । पुस्तकालयीय अध्ययनबाट प्राप्त प्राथमिक तथा द्वितीयक सामग्रीलाई सघन पाठ विश्लेषण तथा आगमनात्मक तर्कपद्धतिको उपयोगद्वारा विश्लेषण गरी निचोड निकालिएको यो लेख माधवी उपन्यासमा के कस्ता मिथकीय बिम्बहरू प्रयोग भएका छन् भन्ने समस्यामा केन्द्रित रहेकाले उक्त उपन्यासमा प्रयुक्त प्रमुख मिथकीय बिम्बहरूको निरूपण गर्नु नै यस लेखको उद्देश्य रहेको छ । माधवी उपन्यासमा आदिम मानवका प्रकृतिपरक र मनोदेहिक प्रथम अनुभवलाई प्रतिबिम्बित गर्ने आद्य बिम्ब; भूतप्रेत, राक्षस आदि अद्भूत भाव तथा आदिम समयको गणगोत्र चिह्न प्रतिबिम्बित गर्ने किमाकार बिम्ब; जादु, टुनामुना, तन्त्रमन्त्र, कर्मकाण्ड, यज्ञ अनुष्ठान आदिलाई प्रतिबिम्बित गर्ने यातुधार्मिक बिम्ब; लोकप्रसिद्ध नायक, नायिका, ऐतिहासिक पुरुष तथा अलौकिक पात्रलाई प्रतिबिम्बित गर्ने निजन्धारी बिम्ब; धार्मिक आस्था र विश्वासलाई प्रतिबिम्बित गर्ने देवाख्यान बिम्ब; आदिम मानवीय आस्था एवं विश्वासलाई प्रतिबिम्बित गर्ने प्रत्यय बिम्ब आदिको प्रयोग गरिएको छ । यी मिथकीय बिम्बहरूको अध्ययनबाट आदिम मानवका प्रकृति, ब्रह्माण्ड, जन्म, मृत्यु, देवीदेवता, भूतप्रेत आदि सम्बन्धी धारणा र विश्वासलाई बुझ्न सकिन्छ ।
अतः माधवी उपन्यासका विश्वामित्र, गालव, माधवी, ययाति जस्ता पात्रहरूलाई आदिम मानवका अनुभव, धारणा र विश्वासलाई संवहन गर्ने आद्यरूपीय चरित्र तथा मिथकीय बिम्बका रूपमा प्रस्तुत गरिएको छ । यस्ता आद्यचरित्र र बिम्बहरूको अध्ययनबाट उत्तरवैदिककालीन समाजका मानिसहरूले जीवन र जगत्लाई कसरी हेर्थे भन्ने कुरा बुझ्न सकिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।