रावणायन उपन्यासमा युगचेतना {Epochal consciousness in the novel Ravanayan}
DOI:
https://doi.org/10.3126/cognition.v7i1.74794Keywords:
पुनर्लेखन, प्रतिरोध चेतना, मिकथीय पात्र, समतामूलक समाजAbstract
प्रस्तुत शोधलेख खनाल रेवतीरमणकृत रावणायन उपन्यासमा अभिव्यक्त युगचेतनाको विश्लेषणमा केन्द्रित छ । कुनै समय विशेषमा सामाजिक, सांस्कृतिक एवम् राजनीतिक रूपमा विकसित अवधारणा युगचेतना हो । प्रस्तुत उपन्यासमा रावणको प्रचलित मिथकलाई पुनर्लेखन गरी नायकत्व प्रदान गरिएको छ र त्यसमार्फत संविधान सभामार्फत संविधान बनेपश्चात्को युगचेतना अभिव्यक्त गरिएको छ । यस सन्दर्भमा रावणायन उपन्यासमा वर्तमान युगचेतनालाई के–कसरी प्रस्तुत गरिएको छ भन्ने समस्याको समाधान खोजी गर्ने उद्देश्यका साथ यो अध्ययन गरिएको छ । यसमा रावणायन उपन्यास प्राथमिक सामग्री रहेको छ भने यस उपन्यासबारे गरिएका पूर्वअध्ययन र युगचेतनासम्बन्धी लेखरचना द्वितीयक सामग्री रहेका छन् । तिनको सङ्कलन पुस्तकालाय र इन्टरनेटका माध्यमबाट गरिएको छ । समस्याको समाधानका लागि उपन्यासबाट सोद्देश्यमूलक विधिबाट तथ्यहरू सङ्कलन गरी तिनको व्याख्या विश्लेषण गरिएकाले यसमा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । यसरी गरिएको अध्ययनका आधारमा यस उपन्यासमा विभेदप्रतिको प्रतिरोध चेतना र समतामूलक समाजको परिकल्पना जस्ता युगचेतनालाई पौराणिक पात्र रावणको चरित्रको पुनर्लेखनका माध्यमबाट प्रस्तुत गरिएको निष्कर्ष निकालिएको छ ।