माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
DOI:
https://doi.org/10.3126/cognition.v6i1.64479Keywords:
ईश्वर, सगुण, साकार, परमात्मा, वैराग्य, आश्रयस्थल, जीवAbstract
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन ‘वैराग्य’ कवितामा अभिव्यञ्जित सगुण, साकार ईश्वरचिन्तनमा आधारित छ । यो अध्ययन ‘वैराग्य’ कवितामा ईश्वरको सगुण, साकार स्वरूपको प्रयोग केकस्तो छ र कसरी प्रयोग गरिएको छ भन्ने समस्यामा केन्द्रित छ । यस समस्या समाधानका लागि सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यो अध्ययनमा गुणात्मक विधिको प्रयोग गरिएको छ । घिमिरेको यो ‘वैराग्य’ कविता सगुण, साकार ईश्वर चिन्तनको सम्यक अभिव्यक्ति भएको कविता हो । यस कवितामा वेदान्त दर्शनले स्थापित गरेको सगुण, साकार ईश्वरसम्बन्धी दार्शनिक मान्यतालाई प्रस्तुत गरिएको छ । ‘वैराग्य’ शब्दले सांसारिक विषयवस्तु र वासनामय जीवनबाट मनुष्य विरक्त बनेर ईश्वर प्राप्तिमा लाग्ने अवस्थालाई सङ्केत गरेको छ । वैराग्य प्राप्त भएपछि नै मनुष्यादि जीव ईश्वरप्रति समर्पित हुने विचार कवितामा प्रस्तुत भएको छ । कवितामा सांसारिक मायामोह र विषयवासनाजस्ता कुराहरूलाई त्याग गरेर एकान्त स्थलमा गई सगुण, साकार ईश्वरको उपासना गर्नुपर्ने कुरा बताइएको छ । कविले समस्त विश्वब्रह्माण्डका अन्य कुरा क्षणिक हुन् तर ईश्वर सत्य छन् भन्ने विचार कवितामा व्यक्त गरेका छन् । यस कवितामा समस्त मनुष्यादि जीवको अन्तिम आश्रयस्थल सगुण, साकार ईश्वर राम नै रहेको विचार व्यञ्जित गरिएको छ । यस अध्ययनको अन्त्यमा माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कविता वेदान्त दर्शनको सगुण, साकार ईश्वरचिन्तनका दृष्टिले उत्तम रहेको र माधवप्रसाद घिमिरे ईश्वरवादी कवि भएको निष्कर्ष निकालिएको छ । दर्शनजस्तो विषयलाई कविताको विषय बनाएर त्यसलाई शास्त्रीय लयका माध्यमबाट कलात्मक र मार्मिक ढङ्गले प्रस्तुत गर्नु लेखकको वैशिष्ठ्य हो र यो नै अध्ययनको प्राप्ति पनि हो ।