ललित विष्टको ‘बेखबर मृत्यु’ कथामा अभिघातको खोजी
DOI:
https://doi.org/10.3126/cognition.v3i1.55692Keywords:
विस्थापन, मानसिक तनाव, जीवनमूल प्रवृत्ति, मृत्मूल प्रवृत्ति, जिजीविषाAbstract
प्रस्तुत अध्ययनमा उत्तरआधुनिक साहित्यको विभिन्न अवधारणामध्ये अभिघात सिद्धान्तलाई आधार बनाएर ललित विष्टको ‘बेखबर मृत्यु’ कथाको विश्लेषण गरिएको छ । अङ्ग्रेजीको ट्रौमा शब्दलाई नेपालीमा रूपान्तरित अभिघात शब्दले चिनाउने गरिएको पाइन्छ । अघिभात (ट्रौमा) भनेको मानसिक घाउ पार्ने पीडादायी अनुभूति हो । युद्धजन्य भौतिक अभौतिक तथा मानसिक सन्त्रासको चरम स्थिति अभिघात हो । सामान्यतः अभिघात मानसिक र दौहिक दुवै हुन्छ, तर मनोविज्ञान र साहित्यमा मानसिक अभिघातलाई महत्व दिइएको पाइन्छ । यस विश्लेषणात्मक अध्ययनमा अभिघात कथाको समालोचना पद्धतिका आधारमा ‘बेखबर मृत्यु’ कथाबाट तथ्य सङ्कलन गरी अभिघातको खोजी गरिएको छ । कथाको अन्तर्वस्तुको विश्लेषणका आधारमा मूल्याङ्कन गर्दा युवा कथाकार ललित विष्ट युद्धजन्य आतङ्क, संत्रास, मृत्यु, बिछोड, हत्या, हिंसा, प्रेम, घृणा र बलात्कारका घटनाबाट शारीरिक र मूलत मानसिकरूपमा अभिघातित भएका पात्रहरूलाई प्रमुखता दिएर कथा लेख्ने सफल कथाकार हुन् । उनको ‘बेखबर मृत्यु’ कथामा नेपालको सुदूरपश्चिमको अछाम जिल्लामा भएको दश वर्षे जनयुद्धको प्रभाव, पात्रहरूका युद्धका भोगाइ, पीडा र तनावलाई विषयवस्तु बनाइएको छ । यस कथामा जनयुद्धको भोगाइ, पीडा, हत्या, हिंसा, बलात्कार जस्ता आतङ्कको मारमा परेर जीवन गुमाएका, बाँचेर पनि आफन्त गुमाएर, अपाङ्ग भएर, अनेक यातना खपेर रुग्ण बनेका मानवीय जीवनका अभिघातको अध्ययन गरिएको र उनीहरूका अभिघातका कारणको पहिचान गरी अभिघात न्यूनीकरणको उपायको खोजीसमेत गरिएको छ ।