‘नासो’ कथामा सामाजिकता
DOI:
https://doi.org/10.3126/cognition.v2i1.55614Keywords:
आधुनिक, किनारीकृत, प्रजाति, परिवेश, युग, धर्म, संस्कृति, वर्गAbstract
प्रस्तुत आलेख ‘नासो’ कथामा रहेको समाज विश्लेषणमा केन्द्रित रहेको छ । सामाजिक दृष्टिबाट साहित्यिक कृतिको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने पद्दतिलाई समाजपरक समालोचना भनिन्छ । यसमा साहित्यको अध्ययन गर्ने मुख्य आधार समाजलाई मानिन्छ र लेखक बाँचेको समाजका सामाजिक अवयवहरूका आधारमा यसमा साहित्यको चिरफार गरिन्छ । यस आलेखमा नेपाली कथा–परम्परामा आधुनिकताको सुत्रपात गर्ने ‘नासो’ कथामा रहेका समाजमा जीवनयापन गरेका पात्रहरूको सामाजिक संरचना अनुसारका अवस्थाको चित्रण र चिरफार गरिएको छ । यहाँ विषय परिचय र सैद्धान्तिक आधार प्रस्तुत गरी टेनको समाजपरक मान्यताभित्रका मूलतः जाति, पर्यावरण र क्षणका मान्यताका आधारमा ‘‘नासो’ ’कथालाई हेरिएको छ । यसका अलावा युगभित्र धर्म, संस्कृति, लिङ्ग र वर्गलाई यहाँ पृथक उपशीर्षकमा अध्ययन–विश्लेषण गरी निष्कर्ष निकालिएको छ। साहित्यको समाजपरक चिन्तनको मतहरूका आधारमा ‘नासो’ कथाको मौलिक विश्लेषण गरिएको यो आलेख सामजिकताका आधारभूमिमा रही साहित्यिक कृतिको अध्ययनमा सीमित छ । ‘नासो’ कथामा प्रजातिगत दृष्टिमा ब्राह्मण जातिको समग्र संस्कार र परम्परालाई स्पष्टसँग देखाइएको र मूलतः ब्राह्मण समाजमा व्याप्त पुरातन मान्यता र त्यसैले निर्माण गरेको चलन–प्रचलनमा आधारित रहेको समाज चित्रित रहेको तथा चेतनाका हिसाबले वर्गविभाजित यस समाजमा नारीहरुको चेतनाको स्तर र उनीहरुप्रतिको सामाजिक दृष्टिकोण एकदमै दयनीय रहेको पाइएको छ । तत्कालीन राणा शासनकालीन परिवेशको परिचित्रण रहेको कथामा राणाहरूको बोलवालामा नेपाली जनताले भोग्नुपरेको पीडादायक अवस्था चित्रित छ । समग्र समाज चित्रणका हिसाबमा हेर्दा ‘नासो’ कथा सबल रहेको तर समाज परिवर्तनको दिशामा भने लेखकीय दृष्टिचेत पुरातन रहेको स्पष्ट बुझिन्छ । समग्रमा हेर्दा समाजका विविध पक्षहरूको यथास्थिति चित्रणमा कथा सबल रहेको पाइएको छ ।