दिनबन्धु शर्माका कथामा विनिर्माण
DOI:
https://doi.org/10.3126/cognition.v5i1.55441Keywords:
विधामिश्रण, विधाभञ्जन, बहुकेन्द्र, लीला, मिथ्या, भिन्नताAbstract
प्रस्तुत शोध ‘दिनबन्धु शर्माका कथामा विनिर्माण शीर्षकमा केन्द्रित रहेर अध्ययन गरिएको छ । शर्माका भत्किँदै किल्लाहरू कथासङ्ग्रहका एक्काइस कथामध्ये ‘रामलीला’, ‘उर्मिला’,‘शूपर्णखा’ गरी तिन कथामा सीमाङ्कित गरी फ्रान्सेली दार्शनिक डेरिडाको विनिर्माणवादी चिन्तनलाई प्रमुख आधार बनाएर अध्ययन गरिएको छ । यस लेखको अध्ययनका लागि वर्णनात्मक तथा विश्लेषणात्मक विधिको अवलम्बन गरिएको छ । ‘रामलीला’ कथामा पैसा कमाउन विदेशिएर स्वदेश फर्केकी सीतालाई लोग्नेले स्वास्थ्य परीक्षणका लागि दबाब दिएको विषयलाई रामायणको अग्नि परीक्षासँग तुलना गरी विनिर्माण गरिएको छ । यसमा आधुनिक युगकी सीताद्वारा अग्निपरीक्षा नारीको मात्र होइन, पुरुषको पनि हुनुपर्दछ भन्दै आत्महत्या अस्वीकार गरी नारी अस्तित्वको खोजी गरिएको छ । ‘उर्मिला’ कथामा रामायणकी पौराणिक पात्र उर्मिला र फिलिपिनी महिला अरेबिल्लाको पति वियोगको पीडासँग तुलना गरी कथाको विनिर्माण गरिएको छ । यस कथामा चौध वर्षसम्म पति वियोगको व्यथा खपेर पनि लक्ष्मणकै नाम जपेर बसेकी तर इतिहासमा अत्यन्त ओझेलमा परेकी उर्मिलाको अस्तित्वको खोजी गरिएको छ । ‘शूपर्णखा’ कथामा रामायणमा प्रतिकूल पात्रका रूपमा चर्चित शूपर्णखालाई अनुकूल पात्रका रूपमा प्रस्तुत गरी कथालाई विनिर्माण गरिएको छ । प्रस्तुत कथामा विधवा शूपर्णखाको यौनाधिकारको वकालत गरिनुका साथै आदर्श पुरुषका रूपमा प्रतिष्ठित भएका श्रीराम र लक्ष्मणको आदर्शलाई भत्काएर एक अभिमानी र दम्भी पुरुषका रूपमा उभ्याउने काम गरिएको छ । यसमा डेरिडाले भनेजस्तै सारा जीवन र जगत् भ्रम हो । हामीले जीवनमा जे गर्यौ ती पनि सबै लीला, मिथ्या, भ्रम र व्यर्थ हुन् । भन्ने शून्यवादी दार्शनिक चिन्तनको प्रयोग भएको देखिन्छ । यी तिन वटै कथाहरूको विनिर्माण गर्दा नारी अस्तित्व र अधिकारको खोजी गरिनु राम्रो कुरा हो, तर विनिर्माण , विधामिश्रण र टुक्रे आख्यानहरूको प्रयोगले गर्दा रामायण कथामा प्रस्तुत मूल भाव र कथाको संरचना पूर्णरूपले भत्किएर ,अर्थमा भिन्नता, विधागत र अर्थगत अनिश्चितताका कारण पाठकहरूमा विश्व प्रशिद्ध रामायण कथाको परम्परित आदर्शप्रति नकारात्मक सन्देश प्रवाह भएको छ । एक केन्द्र भत्किएर बहुकेन्द्रको स्थापना, भई विधागत अस्तित्व नै समाप्त भएको छ ।