सुलोचना महाकाव्यमा ईश्वरचिन्तन
DOI:
https://doi.org/10.3126/vangmaya.v21i1.74246Keywords:
अस्तित्व, ईश्वर, मोक्षदाता, शान्ति, संहार, सृष्टिकर्ताAbstract
प्रस्तुत लेख महाकाव्यकार लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको ‘सुलोचना’ महाकाव्यमा अभिव्यक्त ईश्वरचिन्तनको खोजी गर्ने कार्यमा केन्द्रित छ । प्रस्तुत महाकाव्यमा ईश्वरसम्बन्धी के कस्तो चिन्तन व्यक्त भएको छ र त्यसलाई कृतिमा कसरी व्यक्त गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने प्रयत्न यसमा गरिएको छ । विश्व–ब्रह्माण्डको सृष्टि गर्ने, पालन गर्ने वा नियन्त्रण गर्ने र विनाश गर्ने जुन परमशक्ति छ त्यो नै ईश्वर हो भनिएको छ र ईश्वरको अस्तित्व छ भनी मान्ने धारणा नै ईश्वरचिन्तन हो । प्रस्तुत महाकाव्यमा ईश्वरलाई सृष्टिकर्ता, पालनकर्ता तथा शान्ति तथा अभयदाताका
रूपमा उभ्याइएको छ । ईश्वरसम्बन्धी चिन्तन व्यक्त गर्न प्रस्तुत महाकाव्यमा सोहीअनुसार कथानकविन्यास गरिएको छ भने यसका मुख्य नायक तथा नायिकालाई ईश्वरकै भक्तिमा तल्लीन रहने सच्चा ईश्वरभक्तका रूपमा उपस्थित गराइएको छ । त्यसैगरी प्रस्तुत महाकाव्यमा भेटिने परिवेशविन्यास पनि ईश्वरचिन्तनको अभिव्यक्तिका लागि उपयुक्त रहेको देखिन्छ । सामाजिक एवम् पारिवारिक कारणले गर्दा एकअर्कासँग विवाह गर्न नपाएपछि मानसिक रूपमा विक्षिप्त जस्तै बनेका प्रस्तुत उपन्यासका नायक–नायिका मनको शान्तिका साथै भयबाट मुक्ति पाउनका लागि ईश्वरभक्तिमा लागेका देखिन्छन् । यसरी
प्रस्तुत महाकाव्यमा यस सृष्टिको सृजना गर्ने, पालन गर्ने र विनाशसमेत गर्ने परमशक्ति नै ईश्वर हो भन्ने चिन्तन व्यक्त गरिएको छ र यस किसिमको चिन्तन व्यक्त गर्नका लागि सोहीअनुरूपको कथानकविन्यास, पात्रीय ढाँचा र परिवेशविन्यासको ढाँचा अँगालिएको छ । यिनै कथानक, पात्र र परिवेशका आधारमा महाकाव्यमा ईश्वरचिन्तनको बीज स्थापना गरिएकाले यसमा मूलतः व्याख्यात्मक विधि अँगालिएको छ । ईश्वरसम्बन्धी विषयको व्याख्या गर्दा ‘सुलोचना’ ईश्वरचिन्तनको
अभिव्यक्तिका दृष्टिले प्रभावशाली महाकाव्य हो भन्ने तथ्य निष्कर्षित भएको छ ।