नेपाली नाटकमा आध्यात्मिक तथा ऐतिहासिक भौतिकवाद
DOI:
https://doi.org/10.3126/vangmaya.v20i01.68155Keywords:
अधिसंरचना, अध्यात्मवाद, उदात्तता, मोक्ष, वर्गसङ्घर्षAbstract
प्रस्तुत लेखमा आधुनिक नेपाली नाटकको सर्वेक्षण गरी त्यस कालखण्डका नाटकमा अन्तर्भूत आध्यात्मिक र ऐतिहासिक भौतिकवादी विचारधाराको प्रयोग केकसरी भएको छ भनी चर्चा गरिएको छ । गुणात्मक विधि अवलम्बन गरी तयार पारिएको यस अध्ययनमा पुस्तकालयबाट सामग्री सङ्कलन गरिएको छ । विचारधारा व्यापक अवधारणा भएकाले यहाँ परस्पर विपरीत अध्यात्म र ऐतिहासिक भौतिकवादी दुई विचारधारालाई मात्र विवेचना गरिएको छ । आधुनिक नेपाली नाटकको सर्वेक्षणपश्चात् प्राप्त नाट्यकृतिको व्याख्या गरिएको यस लेखमा विवरणात्मक र विश्लेषणात्मक दुवै पद्धतिको अनुसरण गरिएको छ । यहाँ आध्यात्मिक र भौतिक विचारको प्रयोग भएका नाटकका मूलपाठलाई अध्ययनको प्राथमिक स्रोत र त्यस प्रकृतिका नाटकका विषयमा अतीतमा भएका अनुसन्धानलाई द्वितीयक स्रोत मानिएको छ । नेपाली नाटकमा वैचारिकता पर्गेल्न पेट्रिक मेनार्ड (सन् २००९) को ग्रन्थ रङ्गमञ्च र दर्शनसम्बन्धी अवधारणाबाट नाट्यदर्शन, पूर्वीय जगतका वेद, पुराण तथा उपनिषद्बाट आध्यात्मिकता साथै कार्ल मार्क्स र एङ्गेल्सको द जर्मन आइडियोलजी (सन् २००४) बाट ऐतिहासिक भौतिकवादको सिद्धान्तलाई प्रयोग गरिएको छ । विचार, विचारधारा र साहित्यिक विचारधारालाई परिभाषित गरिएको प्रस्तुत लेखमा आधुनिक नेपाली नाटकमा आध्यात्मिक र ऐतिहासिक भौतिकवादी विचारधाराको उपस्थिति सबल रहेको निष्कर्ष निकालिएको छ ।