वीरेकी आमा कथामा जातीय शक्तिसम्बन्ध
DOI:
https://doi.org/10.3126/vangmaya.v19i01.59235Keywords:
उत्पीडन, प्रभुत्व, वर्चस्व, विभेद, सामन्तवादी विमर्शात्मक संरचनाAbstract
प्रस्तुत लेखमा रमेश विकलको 'वीरेकी आमा’ कथामा आधारित भई वर्णवादी समाजको माथिल्लो जात मानिने ब्राह्मण र तल्लो जात मानिने दलितबिचको श्रेणीक्रममा आधारित जातीय शक्तिसम्बन्ध देखाइएको छ । यस कथामा तत्कालीन नेपाली समाजको वर्णाश्रमयुक्त व्यवस्थामा आधारित कथित उच्च जातीय आर्थिक सम्बन्ध र त्यसका आडमा कथित निम्न जातिमाथि गरिएको विभेदजन्य तथा उत्पीडनकारी जातीय शक्तिसम्बन्ध प्रस्तुत गरिएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको यस अध्ययनमा सांस्कृतिक अध्ययनअन्तर्गत जातीय शक्तिसम्बन्धको विश्लेषण गरिएको छ । सीमान्तीकृत समुदायको निम्न जातको कमजोर आर्थिक अवस्था देखाइएको यस कथामा ग्रामीण जीवनका निम्न जातीय समुदायका पीडा, दुःख र जीवनसङ्घर्षको प्रस्तुति छ । यसमा तत्कालीन समाजमा सामन्तवादी विमर्शात्मक संरचना क्रियाशील रहेका कारण उत्पादनका साधनमाथि उच्च जातीयवर्गीय वर्चस्व कायम भएको छ र त्यसबाट निर्मित तथा प्रसारित ज्ञानका कारण जातीय शक्तिसम्बन्ध धमिलिई शत्रुतापूर्ण बनेको देखाइएको छ । तत्कालीन समाजमा उत्पादनका सबै साधनमाथि कथित उच्च जातको वर्चस्व रहेको हुनाले वितरण प्रणाली र सामाजिक प्रभुत्वमा पनि उच्च जात भनिएकाकै आधिपत्य स्थापित भएको देखाइएको यसमा जातीय विभेद, दमन र तत्कालीन समाजमा स्थापित सामन्ती ढाँचाको विमर्शात्मक संरचनाले कथित उच्च जातलाई शासक र निम्न जातलाई शासितको स्थान तय गरिदिएर वर्गीय दमन र शोषणका लागि आधार तयार पारेको देखाइएको छ । स्थानीय सत्तामा कथित उच्च जातकै वर्चस्व रहेको र केन्द्रीय सत्तासम्मको पहुँचसमेत उच्च जातकै भएका कारण श्रमको मूल्य निर्धारण, सामाजिक न्याय, श्रमको अतिरिक्त मूल्यको शोषण जस्ता कार्यमा कथित उच्च जातले छुट पाएको विषयवस्तु यस कथामा छ । तत्कालीन वर्णवादी समाजमा एउटा जातले अर्को जातमाथि गर्ने विभेद, शोषण, दमन र उत्पीडनको स्वरूपलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको यस अध्ययनमा सामन्तवादी,पुँजीवादी, वर्णवादी समाज र सामाजिक संरचना भएकै कारणले त्यस बेलाको विमर्शात्मक संरचना नै निम्न जातमाथि सत्ता र शक्तिको पहुँचका कारण शोषण गर्न क्रियाशील थियो भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।