स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना
DOI:
https://doi.org/10.3126/sotang.v5i1.65056Keywords:
अतिकल्पना, अलौकिकता, कल्पनाशीलता, पुरुषप्रधानता, मातृसत्ताAbstract
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा नारीराज्यको कल्पना गरी असम्भव क्रियाकलाप प्रस्तुत गरिएको छ । यस नाटकमा चोभारको गुफाबाट पसेको बालकृष्ण नयाँ नारीको राज्यमा पुग्छ जहाँ नारी पुरुषबिच कुनै विभेद देखिँदैन । त्यहाँका नारी आत्मनिर्भर भएको, घुम्न हिमालय पुगेको, आफ्नै देशमा प्रविधिको आविष्कार गरेको र विभेदयुक्त सोच भएका पुरुषबाट भाव परिवर्तन गराई नारी र पुरुषबिच समानता ल्याएको कल्पना नाटकमा गरिएको छ । राम्रो राज्यको कल्पना गरिए पनि पुरुषप्रधान सोच भएका व्यक्तिबाट त्यस कार्यलाई असफल बनाइएको र युद्धमा सबै नारी मारिएको, बालकृष्ण बचेर आफ्नै देश फर्किएका अतिकाल्पनिक घटना नाटकमा प्रस्तुत छन् । यस नाटकमा दुई घण्टाभित्र बालकृष्ण नयाँ राज्यमा पुगी कैयौँ दिन बिताएर फर्किएको घटनालाई अद्भुत रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।