पाश्चात्य भाषिक चिन्तन परम्परामा ग्राइसको संवाद र सहयोग सिद्धान्त
DOI:
https://doi.org/10.3126/sotang.v4i4.57088Keywords:
तर्क र संवाद, गुणोक्ति, परिमाणोक्ति, सम्बन्धोक्ति, व्यवहारोक्तिAbstract
पाउल ग्राइसको संवादात्मक सहयोग सिद्धान्त पाश्चात्य भाषिक चिन्तकहरूका निरन्तर चिन्तन परम्पराको एक महत्त्वपूर्ण उपलब्धी हो । यो सिद्धान्त ग्राइसले हार्वड विश्वविद्यालयमा दिएका व्याख्यानहरूमा आधारित छ । उनका व्याख्यानको सारस्वरूप यो १९७५ मा प्रकाशित Logic and Conversation वा तर्क र संवाद शीर्षकको लेखमा समेटिएको छ । ग्राइसले संवादलाई अर्थपूर्ण, उद्देश्यपूर्ण र सहज बनाउन, संवादको गुणस्तर, संवादको मात्रा, संवादमा अन्तरसम्बन्ध तथा संवादको तरिका (गुणोक्ति, परिमाणोक्ति, सम्बन्धोक्ति र व्यवहारोक्ति) जस्ता चार सूत्रहरू अघि सारे । यी चारवटा सूत्रको प्रयोग गर्दै संवादका सिलसिलामा वक्ताले असत्य र प्रमाणहीन कुरा बोल्नु हुँदैन, सत्य र ठरिहने कुरा बोलेर संवादलाई गुणस्तरीय बनाउनु पर्छ । असावधानी साथ गलत भएको रहेछ भने गल्ती सच्याउने आचारसंहिता पालन गर्नुपर्छ भन्ने सल्लाह दिइएका छन् । यसैगरी चाहिने कुरा बोल्नु र नचाहिने कुरा नबोल्नु भन्ने उनको परिमाणोक्ति सूत्रको अन्तर्यय हो । संवादलाई लक्ष्योन्मुख र उपलब्धीपूर्ण बनाउन प्रश्न र उत्तरको प्रसङ्ग वा धारा पनि मिल्नु पर्छ । यसको संवादलाई बलियो बनाउँछ । सम्बन्ध बलियो भयो भने संवादको सन्दर्भ र सिलसिला मिल्छ भन्ने सम्बन्धोक्तिको मर्म हो । भन्न खोजेको कुरा नढाँटी नअल्मलिई सावधानीसाथ सुरैले भन्नुपर्छ । तरिका नमिलाई गरिएको संवाद अर्थहीन बन्न जाने भएकाले अभिव्यक्तिमा अस्पष्टता र आशंका हटाएर सङ्क्षेपमा र क्रमैसँग भन्नुपर्छ भन्ने व्यवहारोक्तिको आसय हो । यसरी संवादलाई सहज, स्पष्ट, प्रभावकारी बनाउन र भाषालाई मानवीय विचार, भाव तथा धारणा आदानप्रदानको प्रभावकारी साधनका रूपमा प्रयोग गर्नका लागि ग्राइसको संवादात्मक सहयोग सिद्धान्त एक महŒवपूर्ण मार्गदर्शन रहेको छ । प्रस्तुत अध्ययनमा भाषाको सामान्य परिचय, भाषाका कार्य, भाषासम्बन्धी चिन्तनका पाश्चात्य मत तथा परम्पराको चर्चा गर्दै उपलब्ध स्रोतमा केन्द्रित भई ग्राइसका भाषिक चिन्तन र योगदानको चर्चा पुस्तकीय अध्ययन कार्यका आधारमा विश्लेषणात्मक पद्धति अपनाइएर गरिएको छ ।