तवलावादनको क्षेत्रमा लगानी एवम् प्रतिफल: नेपालको सन्दर्भमा
DOI:
https://doi.org/10.3126/jfac.v5i1.60301Keywords:
Tabla, Nepali Tabla Players, ProfessionAbstract
तबलावादनको सुरुवात १८ औं शताब्दीका उस्ताद सिद्धार (सुधार) खाँले भारतको दिल्लीमा गरेका थिए । उनले पखावजमा वादन गरिने बोल÷वर्णहरूको आधारमा तबलावादन गरेको तथ्यमा धेरै विद्वानहरूको मतैक्यता रहेको छ । त्यस समयदेखि प्रचलनमा आएको तबला वर्तमान समयमा स्वतन्त्र एवम् सङ्गत गर्नका लागि प्रयोग हुने सर्वाधिक लोकप्रिय ताल वाजा हो । तबलावादन अन्तर्गत प्रमुखतः शास्त्रीय एवम् आधुनिक दुईवटा शैली रहेका छन् । शास्त्रीय शैलीको तबलावादन अन्तर्गत गायन, तन्त्र÷स्वर वादन एवम् कत्थक नृत्यमा सङ्गतका रूपमा गरिन्छ भने स्वतन्त्रवादन पनि यस अन्तर्गत पर्दछ । आधुनिक अन्तर्गत समसामयिक रूपमा प्रचलनमा रहेका फ्युजन, रक, ब्लुज आदि सङ्गीत शैलीसँग गरिने वादन पर्दछ । उक्त दुवै शैलीमा सङ्गत गर्दा तबलावादकले अभ्यासका साथै विवेकको प्रयोग गर्नु पर्दछ । यसरी स्वतन्त्र तथा सङ्गीत शैलीहरूसँग उत्कृष्ट तबलावादनका लागि तालीम ग्रहण तथा अभ्यासमा समय लगानी हुन्छ । त्यस्तै उत्कृष्ट वादनका लागि वाद्ययन्त्र पनि गुणस्तरीय हुनुपर्दछ । गुणस्तरीय तबला खरिदका लागि उच्च आर्थिक लगानी गर्नुपर्दछ । यसरी उत्कृष्ट तबलावादनको पृष्ठभूमिमा आर्थिक, वौद्धिक तथा समयको लगानी एक आपसमा अन्तर्सम्बन्धित रहेका हुन्छन् । नेपालका विद्वानहरूद्वारा शास्त्रीय सङ्गीत विषयमा हालसम्म भएको अनुसन्धानद्वारा राणाहरूको समयदेखि विभिन्न दरवार, सङ्गीत अध्यापन एवम् कार्यक्रम हुने स्थानहरूमा स्वतन्त्र एवम् विभिन्न विधाहरूका साथमा तबलावादन हुने तथ्य रहेको छ । नेपालमा तबलावादनको पृष्ठभूमिमा हुने लगानी तथा त्यसबाट उपलब्ध हुने प्रतिफल बारेमा अध्येताले अनुसन्धानात्मक लेख प्राप्त नगरेको हुनाले एउटा प्रयास गरिएको हो । प्रस्तुत लेखबाट नेपालमा तबलावादनलाई पेशागत रूपमा अगाडी बनाउने चाहना भएका व्यक्तिहरूलाई यस विषयमा हुने लगानी र प्रतिफल बारेमा जानकारी हुनेछ । प्राथमिक, द्वितीयक, एवम् लेखक तबलावादक भएको हुनाले अनुभवको आधारमा गुणात्मक विधिमा लेख तयार गरिएको छ।