समालोचनात्मक शिक्षणको कार्यान्वयनका सम्बन्धमा माध्यामिक तहका शिक्षकहरूको धारणा तथा विचार
DOI:
https://doi.org/10.3126/irj.v4i2.91136Keywords:
नवउदारवाद, सामाजिक रूपान्तरण, शिक्षण सिकाइ, चेतना, अभ्यास, आशा, मुक्ति, संवादAbstract
नवउदारवाद एक्काइसौँ शताब्दीको प्रमुख विचारधारा हो, जसले मानव जीवनका लगभग सबै क्षेत्रलाई, विशेषतः शिक्षा प्रणालीलाई, गहिरो रूपमा प्रभावित गरिरहेको छ । यसले नेपालसहित विश्वका धेरै देशहरूको शिक्षालाई यान्त्रिक जनशक्ति उत्पादनतर्फ मोड्दै समाज रूपान्तरणको उद्देश्यबाट विमुख गराएको छ । यस्तो अवस्थामा शिक्षण सिकाइलाई परिवर्तनशील बनाउन र नवउदारवादी उत्पीडनको प्रतिरोध गर्न समालोचनात्मक शिक्षणशास्त्र प्रभावकारी साधन हुन सक्छ । त्यसका लागि शिक्षकहरू स्वयमले यस शिक्षणशास्त्रको अभ्यास गर्नुृ जरूरी छ । यस अध्ययनको उद्देश्य ‘समालोचनात्मक शिक्षणशास्त्र’ शीर्षकमा शोधपत्र लेखेका शिक्षकहरूले यस विषयमा प्राप्त गरेका ज्ञान, सीप र धारणा पत्ता लगाउनु थियो । तसर्थ गुणात्मक विधिमा आधारित यस अध्ययनका लागि त्रिभुवन र काठमाडौं विश्वविद्यालयका एम एड, एम फिल, र पीएच डी तह पूरा गरेका १८ जना माध्यामिक तहका शिक्षकहरूलाई उद्देश्यपूर्ण नमूना छनोट विधिबाट नमूना छनोट गरिएको थिए । प्रत्येकलाई १५ दिनभित्र प्रतिबिम्बात्मक नोट लेख्न अनुरोध गरिएको थियो । सहभागिहरूको नोटबाट प्राप्त कोडहरूको आधारमा ३ वटा मुख्य विषयवस्तुहरू र १३ वटा उपशीर्षकहरू विकास गरिएको थियो । अन्तमा, यी सबै शीर्षक तथा उपशीर्षकहरूलाई अर्थका आधारमा नामाकारण गरिएको थियो । यस अध्ययनले के देखाएको छ भने, समालोचनात्मक शिक्षणशास्त्रको अध्ययन पछि यस अध्ययनका सहभागी शिक्षाकर्मीहरू मूलधारको शिक्षण सिकाइ प्रक्रियाप्रति सचेत भएका छन् । उनीहरूले समालोचनात्मक शिक्षणशास्त्रको अध्ययन गर्नु अघि कहिल्यै पनि विद्यमान शिक्षा प्रणालीलाई प्रश्न गर्ने सोच आफूमा विकास नभएको र यस विषयको अध्ययनपछि मात्र उनीहरूमा समालोचनात्मक चेतना विकसित भएको र त्यसअनुसार व्यवहारमा परिवर्तन गर्न थालेको पाइएको छ । त्यसका साथै, उनीहरूले साना–साना कदमबाट भए पनि मूलधारको प्रणालीप्रति प्रतिरोध गर्न थालेका छन् र भविष्यप्रति आशावादी बनेको धारणा व्यक्त गरेका छन् । यसका साथै अध्ययनले देखाएको छ भने समालोचनात्मक शिक्षणशास्त्रमा साँच्चिकै रूपान्तरणकारी शक्ति निहित छ, र शिक्षकहरूलाई रूपान्तरणशील बौद्धिक व्यक्तित्वका रूपमा विकास गर्न यसप्रकारको शिक्षणशास्त्रको अति आवश्यकता छ ।