द्विभाषिकता तथा बहुभाषिकताः सङ्क्षिप्त परिचय र प्रकार {Bilingualism and Multilingualism: A Brief Introduction and Types}
DOI:
https://doi.org/10.3126/ej.v2i2.61877Keywords:
व्यक्तिगत द्विभाषिकत, द्विभाषिकताको वर्गीकरण, सामाजिक द्विभाषिकताAbstract
भाषिक प्रयोक्ताले जीवनयापनका क्रममा एकभन्दा बढी भाषामा सञ्चार गर्न सक्ने स्थितिलाई द्विभाषिकता तथा बहुभाषिकता भनिन्छ । यातायात, सञ्चार र प्रविधिको तीब्र विकाससँगै समाज र राष्ट्र बहुभाषिक बन्दै गएको सन्दर्भमा द्विभाषिकता तथा बहुभाषिकताको सामान्य परिचयसहित यसका प्रकारहरूलाई चिनारी गराउने उद्देश्यले यस लेखको रचना गरिएको हो । सैद्धान्तिक प्रकृतिको लेख भएको हुनाले विभिन्न पुस्तक, लेख÷रचना, पत्रपत्रिका आदि द्वितीय स्रोत सामग्रीका आधारमा गुणात्मक विधिको उपयोग गरी द्विभाषिकताका प्रकारहरूलाई उदाहरण सहित चिनाउने कोसिस गरिएको छ । यस लेखमा विशेष स्थितिमा बाहेक द्विभाषिकता शब्दले नै बहुभाषिकतालाई पनि समेटेको छ । द्विभाषिकताका प्रकारको चिनारी गर्ने क्रममा विदेशी विद्वान्हरूद्वारा गरिएको वर्गीकरणको चर्चा गर्दै नेपाली भाषामा नेपाली विद्वान्ले गरेको वर्गीकरणलाई आवश्यकताअनुसार उल्लेख गरिएको छ । विभिन्न विद्वान्हरूद्वारा गरिएका द्विभाषिकताका विभिन्न प्रकारका बारेमा विचार गर्दा सामाजिक द्विभाषिकता र वैयक्तिक द्विभाषिकताभित्र अन्य सम्पूर्ण वर्गीकरणलाई समेट्न सकिन्छ । द्विभाषिकतालाई बौद्धिक विकासको बाधकको रूपमा नलिई सकारात्मक पक्षको रूपमा लिनुपर्ने कुरा विभिन्न अध्ययनबाट पुष्टि भएको छ । द्विभाषिक व्यक्तिहरू एउटै कुरालाई विभिन्न दृष्टिकोणबाट सोच्ने, विश्लेषण गर्ने र सिकेको कुरालाई नवीन ढङ्गबाट प्रस्तुत गर्ने जस्ता सिर्जनशील कार्यमा सक्षम हुन्छन्। साथै धेरै समुदाय तथा संस्कृतिसँग अन्तरक्रिया गरी भाषिक अध्ययन, अनुसन्धानको माध्यमबाट भिन्न संस्कार, संस्कृतिको बारेमा जानकारी लिन र त्यसको ऐतिहासिकताको खोजी गर्न सक्छन्। नेपालको सन्दर्भमा अनुसन्धानको माध्यमबाट द्विभाषिकताको प्रकृतिको पहिचान गर्न सकियो भने भाषा प्रयोगका सन्दर्भमा देखिने कोड मिश्रण र कोड परिवर्तनको कारण र प्रकृति थाहा पाउनुका साथै भाषिक त्रुटि निराकरणमा पनि सहयोग पुग्न सक्छ ।