'अभागी' कथामा परिवेशविधान
Keywords:
अभागी, ऐतिहासिक, परिवेश, त्राटन, सामाजिकAbstract
प्रस्तुत लेख गुरुप्रसाद मैनालीद्वारा रचना गरिएको नासो कथासङ्ग्रह (२०२६) मा सङ्ग्रहित अभागी कथामा परिवेशविधानको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रही तयार पारिएको हो । गुणात्मक ढाँचामा आधारित यो लेख अभागी कथामा परिवेशको प्रयोग के कसरी भएको छ भन्ने मुख्य समस्या उठाई समस्याको प्राज्ञिक समाधान गर्दै कथामा आयोजित परिवेशको विश्लेषणमा केन्द्रित रहेको छ । यसमा मैनालीको अभागी कथालाई प्राथमिक स्रोत सामग्रीका रूपमा लिई सूक्ष्म पठनविधिबाट मुख्य परिवेशको विश्लेषण गरिएको छ । यस लेखमा कथाको परिवेशको विश्लेषण गर्न लिइएका सैद्धान्तिक पुस्तकहरू, विभिन्न जर्नलमा प्रकाशित लेखहरू तथा पुस्तकालयीय स्रोतका सामग्रीहरूलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । कथामा उल्लिखित सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षसँगै स्थानगत र समयगत परिवेशको प्रयोगबाट कथा परिवेशगत रूपमा प्रभावकारी बन्न पुगेको छ भन्ने निष्कर्ष यस लेखमा प्राप्त भएको छ । सामाजिक र सांस्कृतिक पुरातन संस्कारका कारण पुरुषहरूले विवाह गर्दा पहिलो श्रीमतीपट्टिका सन्तानप्रति गरिने सौतेनी व्यवहार र त्यसको परिणामलाई पनि कथाको परिवेशले देखाएको छ । प्रस्तुत कथामा विषयसन्दर्भसँगै पात्रगत र भाषाशैलीगत प्रयोगले कथाको परिवेश थप जीवन्त र यथार्थपरक बन्न पुगेको कुरालाई यस लेखमा अभिव्यक्त गरिएको छ । मान्छे समाज र संस्कृतिबाट अलग हुन नसक्ने तथा त्यहाँको परिस्थतिले उसलाई मानसिक त्राटन दिन सक्ने परिवेशसन्दर्भ विश्लेषणबाट प्रस्तुत गरिएको छ । उक्त वैचारिक निष्कर्ष प्रदान गर्न सक्नु नै यस लेखको महत्त्वपूर्ण प्राप्ति हो ।