वेद र वैदिक दर्शनमा मानव अधिकारका बीजतत्त्व
DOI:
https://doi.org/10.3126/sambahak.v26iI.96237Keywords:
न्याय, पाश्चात्य दर्शन, पौरस्त्य दर्शन, मानव अधिकार, वैदिक वाङ्मय, षड्दर्शनAbstract
नेपाल र दक्षिण एसियाली मुलुकहरूमा आमरूपमा मानव अधिकारलाई पश्चिमी मुलुकहरूबाट प्रेरित 'पराइ अवधारणा' मानिने गरेको छ। यस मान्यताले नेपालका विशेषत: कानुन तथा न्याय, सार्वजनिक क्षेत्र र राजनीतिक वृत्तका पढालेखा भनिएकै मानिसहरूका बुझाइ र विश्वासमा बलियो घर जमाएको छ। यस यथार्थले 'मानव अधिकारको अवधारणा साँच्चै पाश्चात्य सभ्यता र सामाजिक चिन्तनको उपज हो कि पौरस्त्य दर्शन, चिन्तन र मूल्यमान्यता पनि मानव अधिकारका प्रतिमानी बीजतत्त्व छन्?' भन्ने प्रश्न खडा गरेको छ। यस प्रश्नको निरूपणार्थ यो आलेखमा वैदिक वाङ्मय र दर्शनमा रहेका 'मानव अधिकार' अवधारणागत प्रमुख बीजतत्त्वका बारेमा एकसरो परिशीलन गर्ने जमर्को गरिएको छ। विश्वव्यापी अन्तर्राष्ट्रिय कानुनद्वारा सुरक्षित मौलिक स्वतन्त्रता र अधिकारको समुच्चय मानव अधिकार हो। यसको संरक्षण र प्रचलन गर्ने अभिभारा राज्यको भएता पनि यो पश्चिमी उपज वा आदर्श हो भन्ने गलत बुझाइका कारण यसको कार्यान्वयन कमजोर छ। यस परिशीलनले यस्तो बुझाइलाई चुनौती दिन्छ र वेद तथा वैदिक वाङ्मयमा उपलब्ध समानता 'वसुधैव कुटुम्बकम्', अहिंसा "जीवनको अधिकार", न्याय "तर्क र प्रमाणद्वारा सत्यनिर्णय" र कल्याण "सर्वे भवन्तु सुखिनः" जस्ता अवधारणा र प्रतिमानहरू विश्वमानव अधिकारको अवधारणाका बीजतत्त्वका आधार पौरस्त्य दार्शनिक धरातलमा रहेको तथ्यलाई तुलनात्मक रूपमा विश्लेषण गर्छ। यस परिशीलनले वेद र पौरस्त्य दर्शनहरूमध्ये पनि वैदिक दर्शनले मानव अधिकार सादृश्य अवधारणालाई सामाजिक मानवीय आचरणका प्रतिमानका रूपमा के-कसरी स्थापित गरेका छन् भन्ने कुराको वर्णन र मीमांसा गरेको छ।