जडताको ताण्डव कवितासङ्ग्रहमा समाजशास्त्रीय चिन्तन
DOI:
https://doi.org/10.3126/rjpkmc.v4i01.90816Keywords:
मनोदशा, मनोवैज्ञानिक, मानवशास्त्र, युगचेतना, समाजशास्त्रAbstract
प्रस्तुत शोधलेखमा कवि उमेश उपाध्यायद्वारा लिखित जडताको ताण्डव कवितासङ्ग्रहमा समाजशास्त्रीय चिन्तनबारेमा विश्लेषण गरिएको छ । यस कृतिमा अभिव्यक्त समाजशास्त्रीय चिन्तनको अभिव्यक्ति के कस्तो रूपमा रहेको छ भन्ने समस्याको निरूपण गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य रहेको छ भने यसमा पुस्तकालय विधिबाट सङ्कलन गरिएका तथ्याङ्कलाई विश्लेषणात्मक र वर्णनात्मक विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । विशेषतः यसमा माक्र्सवादी समाजशास्त्रले अघि सारेका मूलभूत मान्यतालाई अवलम्बन गरी यसमा मूलतः वर्तमान मानव समाजका असन्तोष, विसङ्गत, सामाजिक, राजनीतिक, सांस्कृतिक अवस्था, दीनता, शासकीय क्रूरता, जडता, गतिहीनता आदिको चित्रण व्यङ्ग्यात्मक रूपमा गरिएको छ । यिनै क्षणगत चेतनालाई कविले समाजशास्त्रीय चिन्तनलाई आधार मानेर अभिव्यक्ति दिएका छन्। समाजशास्त्री तेनबाट स्विकारिएको साहित्यको क्षण, प्रजाति र पर्यावरणका आयामहरू यहाँ समेटिएका छन्। साथै, यहाँ क्षणगत तथा युगबोधलाई हेर्दा युग विकासका क्रममा देखिएका जडता नै सामाजिक जडता भएको, प्रगतिको बाधक भएको, आम मानिसको सुखी, सभ्यता र खुसीको बाधक भएको कुरालाई मुख्यतः उल्लेख गरिएको छ । यसै गरी युद्ध, हिंसा, बलात्कार, अन्याय, अत्याचार, अनिर्णयलाई समाजको नकारात्मक विकासका रूपमा लिइएको छ र यसको कारक तत्त्व जडता हो भन्ने कविको ठहर छ । अतः जडता विकास र प्रगतिको बाधक भएकाले त्यसको अन्त्य नै समाधानको सूत्र रहेको युग चिन्तनलाई निष्कर्षका रूपमा उल्लेख गरिएको छ । मानव विकासको युगीन ऐतिहासिक चेतनाका आधारमा मानवीय सभ्यताको सर्वेक्षणसहित विद्यमान समाजमा अनेक जडताका रूपहरूको अन्त्य गर्न युवाहरू सक्रिय हुनुपर्ने र यसको अन्त्य गरी सुन्दर मानव सपनाहरूको साकार समाज र जीवनको गति अघि बढाउनु पर्ने निष्कर्ष यस शोधलेखको प्राप्ति हो । यसमा यथेष्ट मात्रामा समाजशास्त्रीय चिन्तनको सिर्जनात्मक प्रयोग भएको कुरालाई साक्ष्यहरूका आधारमा निष्कर्ष निकाएको छ ।