‘अवैध सम्बन्ध’ कविताको लयविधान
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86362Keywords:
अग्रभूमीकरण, आवृत्ति, प्रयुक्ति, लयविधान, विचलन, समानान्तरताAbstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित लयविधानको सैद्धान्तिक अध्ययनका लागि पङ्क्तिविन्यास, समानान्तरता, विचलन, विपरीतता, खण्डीकरण र लेख्यचिह्नको प्रयोगलाई प्रमुख आधार बनाइएको छ । त्यसका लागि पुस्तकालयीय कार्यको उपयोग गरी सामग्री सङ्कलन गरिएको छ । पाठविश्लेषणात्मक अध्ययनविधिको उपयोग गरिएको यो लेख गुणात्मक ढाँचामा रहेको छ । प्राथमिक सामग्रीका रूपमा ‘अवधै सम्बन्ध’ कवितालाई समष्टि विधिको उपयोग गरी लिइएको छ । यस कवितामा लयको प्रवाह सिर्जना गर्ने प्रकृतिका शाब्दिक तथा वार्णिक तथ्याङ्क सङ्कलन गर्दै ती साक्ष्यको निगमनात्मक तथा आवश्यकताअनुसार आगमनात्मक विधिको उपयोग गरी विश्लेषण र मूल्याङ्कन गरिएको छ । द्वितीयक सामग्रीका रूपमा पूर्वीय तथा पाश्चात्य समालोचना सिद्धान्तसँग सम्बन्धित विभिन्न सामग्रीको उपयोग गरी अध्ययन गरिएको यस कवितामा समाविष्ट अनियमित पङ्क्तिविन्यासका कारण विशिष्ट लयप्रवाहको सिर्जना भएको छ । पङ्क्तिविन्यास, समानान्तरता, विचलन, विपरीतता, खण्डीकरण तथा लेख्यचिह्नले कवितामा गति, यति, आरोहअवरोह र पाठकमा विशिष्ट प्रकारको भाव सिर्जना गरी लयोत्पादन हुन पुगेको छ । कवितामा समानान्तरताको आवृत्ति, पदक्रम, अर्थतात्त्विक र प्रयुक्ति विचलन जस्ता प्रयोग र भाषिक एकाइहरूको अनुप्रासका कारण उत्पन्न साङ्गीतिक उतारचढाव हुन पुगी विशिष्ट लयोत्पादन भएको निष्कर्ष यस अध्ययनमा प्रस्तुत गरिएको छ ।