संशय सिद्धान्तका आलोकमा सलिजो उपन्यास
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86361Keywords:
क्विर÷संशय, लैङ्गिक अल्पसङ्ख्यक, समलिङ्गी, पितृबिम्ब, नारीसमलिङ्गी÷लेस्बियनAbstract
सलिजो (२०६६) मोहनराज शर्मा (विसं. १९९४–२०७५) द्वारा रचना गरिएको नेपाली उपन्यास हो । प्रस्तुत आलेखमा यस उपन्यासको क्विर÷संशय सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । द्वैध लिङ्ग व्यवस्थाभन्दा विशिष्ट एलजिबिटिआईअन्तर्गत पर्ने लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स र क्विरका मनोसामाजिक पक्षको अध्ययन र विश्लेषण गर्ने अवधारणाले पछिल्लो समयमा मात्र आंशिक रूपमा मान्यता प्राप्त गरेको छ । साहित्यमा यस्ता पात्रको सकारात्मक रूपमा प्रयोग गर्ने परिपाटी नब्बेको दशकपछि मात्रै सुरु भएको हो । क्विर मनोसामाजिक पक्षलाई हृदयङ्गम गरेर लेखिएको नेपाली उपन्यास सलिजो नारी समलैङ्गिक उपन्यास मात्र नभएर उपन्यासमा समाविष्ट विषय र समयसन्दर्भका कारण क्विर मनोवैज्ञानिक उपन्यासका रूपमा स्थापित भएको छ । समाजद्वारा परित्यक्त र हेय मानिएका पुरुष र स्त्रीलिङ्गभन्दा विशिष्ट लैङ्गिक पहिचान भएका सीमान्तीय पात्रहरूलाई केन्द्रमा राखेर आधुनिक तथा उत्तरआधुनिक शिल्प शैलीका माध्यमबाट औपन्यासिक मूल्य प्रदान गरिएको प्रस्तुत उपन्यास मूलतः लैङ्गिक अल्पसङ्ख्यकको अधिकार र अस्तित्वलाई स्थापित गर्ने सन्दर्भमा महत्त्वपूर्ण पदचाप बनेको छ । फरक मूल्य बोकेको र नेपाली उपन्यास परम्परामा नित्य नवीन यस उपन्यासको सार पहिचान परम्परागत उपन्यास सिद्धान्तका आधारमा विश्लेषणबाट गर्न सकिँदैन । लेखकीय उद्देश्य र मनसायलाई पहिचान गर्नका लागि आधुनिक साहित्य विश्लेषणका सन्दर्भमा ९० को दशकतिर मात्र विकसित भएको क्विर÷संशय सिद्धान्तलाई अवलम्बन गरी कृतिमा अभिव्यक्त क्विरप्रतिको दृष्टिकोण र उनीहरूका क्रियाकलापलाई प्रस्तुत आलेखमा सङ्क्षिप्त रूपमा विश्लेषण गरिएको छ । यसबाट क्विर÷संशय सिद्धान्तका आधारमा साहित्यको विश्लेषण गर्ने आधारशिलासमेत तयार भएको छ ।