‘आजको महाभारत’ कथामा अर्थ उत्पादनको संस्कृति {Meaning in the story 'Today's Mahabharata' A culture of production}
DOI:
https://doi.org/10.3126/prajna.v125i1.75278Keywords:
उदीयमान संस्कृति, जैविक बुद्धिजीवी, भाष्य–प्रतिभाष्य, वर्चस्वकारी, सीमान्तकृत वर्गAbstract
प्रस्तुत लेख सांस्कृतिक प्रतिनिधित्व र त्यसले खोजी गर्ने अर्थको निरूपणमा केन्द्रित छ । प्रतिनिधित्वको अध्ययनबाट समाजमा आममानिसहरूको प्रतिनिधित्व कसरी भएको छ र उक्त सामाजिक संरचना कस्तो रहेको छ भन्ने कुराको बोध हुन्छ । समाजसापेक्ष सिर्जित अर्थ निरूपणको आधार नै त्यहाँ अवस्थित सांस्कृतिक प्रतिनिधित्वमा निर्भर रहन्छ । पाठमा प्रतिनिधित्व गर्ने विभिन्न पात्रहरूले प्रभुत्वशाली अर्थ, सहमतीय अर्थ र विरोधजन्य अर्थको उत्पादन गरेको पाइन्छ । यसै सन्दर्भमा घनश्याम ढकालको ‘आजको महाभारत’ कथामा संयोजित वर्गीय पात्रहरूको प्रतिनिधित्व र त्यसले सिर्जना गरेको अर्थको संस्कृतिलाई यस अध्ययनमा स्थान दिइएको छ । यहाँ निर्दिष्ट पाठविश्लेषणका लागि पुस्तकालयीय कार्यद्वारा सामग्री सङ्कलन गरी पाठ र वस्तुको विश्लेषण र व्याख्या गरिएको हुँदा विश्लेषणात्मक र व्याख्यात्मक विधिको उपयोग गरिएको छ । यसै क्रममा ‘आजको महाभारत’ कथामा सम्बद्ध वर्गीय पात्रहरूको पहिचान गरी तिनीहरूको प्रतिनिधित्वबाट सिर्जित अर्थको निरूपण गर्नु नै यस अध्ययनको उद्देश्य रहेको छ । यही उद्देश्यअनुरूप गरिएको अध्ययनबाट यहाँ निर्धारित कथात्मक विमर्शमा उच्चवर्गीय, अधीनस्थवर्गीय र निम्नवर्गीय पात्रहरूको प्रतिनिधित्वबाट प्रभुत्वशाली, सहमतीय र विरोधजन्य गरी तीनओटै सांस्कृतिक अर्थको उत्पादन भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।