‘पिँधको मान्छे’ कवितामा सीमान्तीय अभिव्यक्ति {A marginal expression in the poem 'Pindhko Manche'}
DOI:
https://doi.org/10.3126/prajna.v123i1.62650Keywords:
किनारीकृत वर्ग, दमन, वर्गव्यवस्था, सबाल्टर्न, सीमान्तवर्गAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख ‘पिँधको मान्छे’ कविताको विश्लेषणमा आधारित छ । प्रस्तुत कविता कवि गिरि श्रीस मगरद्वारा लिखित ‘एकलव्यको देब्रे हात’ कवितासङ्ग्रहमा समाविष्ट छ । उनी आफ्ना कवितामा विभिन्न कारणले पछाडि परेको वर्ग, समुदाय वा हेपिएको, अपमानित भएको, शोषित र दमित वर्गका कथाव्यथालाई अभिव्यञ्जित गर्न रुचाउँछन् । प्रस्तुत कविताले युगौँदेखि श्रमशोषणमा परेका र कहिल्यै माथि उठ्न नपाए÷नसकेका वर्गको विषयलाई उठाएको छ । ती वर्गका पसिनाको शोषण गरी सदैव उनीहरूमाथि शासन गर्ने माथिल्लो वर्गको शैलीप्रति कविताले व्यङ्ग्य गर्दै शोषितप्रति सहानुभूतिको भाव प्रकट गरेको छ । यस प्रकारको विषयवस्तुलाई सबाल्टर्न भनिन्छ भने साहित्यमा अभिव्यक्त सबाल्टर्नको अध्ययन गर्ने सिद्धान्तलाई सबाल्टर्न वा सीमान्तीय समालोचना भनिन्छ । प्रस्तुत समालोचनात्मक लेखमा ‘पिँधको मान्छे’ कवितालाई विश्लेष्य सामग्रीका रूपमा चयन गरी उत्तरआधुनिक समालोचनाका क्षेत्रमा विशेष महत्त्वको मानिने सीमान्तीय समालोचना सिद्धान्तका सापेक्षतामा अध्ययन–विश्लेषण गरी प्रस्तुत कविताले उठाएको सीमान्तीकृत वर्गको विषयलाई पहिचान गरिएको छ । युगौँदेखि सामन्तबाट शोषणमा परेका तर तिनको बारेमा कुनै पनि पक्षले नबोलेर मौन बसेकाले उनीहरू आफ्नो हकहितका पक्षमा आवाज उठाउन अक्षम रहेको सन्दर्भलाई नै कविताले अभिव्यक्त गरेको कुराको प्रकटीकरण गर्नु नै प्रस्तुत कविताको उद्देश्य रहेको निष्कर्ष निकालिएको छ । कवितामा आर्थिक र चेतनाका दृष्टिले सीमान्तवर्गमा परेकाका करुणाजन्य अवस्थाको चित्रण गरेर तिनप्रति माथिल्लो वर्गको शून्य सहानुभूतिको व्यवहारका कारण सीमान्त वर्ग सदैव दमित अपहेलित रहन बाध्य रहेको भाव कवितामा व्यक्त भएको निष्कर्ष यस समालोचनात्मक लेखमा निकालिएको छ ।