नेपाली भाषा शिक्षणमा व्यवहारवादी सिकाइ सिद्धान्तको उपयोगिता र चुनौती
Keywords:
क्रियापरक सम्बन्ध प्रत्यावर्तन, नेपाली भाषा शिक्षण, पुनर्बलAbstract
प्रस्तुत अध्ययन नेपाली भाषा शिक्षणमा स्किनरको व्यवहारवादी सिकाइ सिद्धान्तको उपयोगिता र यसले सिर्जना गरेका व्यावहारिक चुनौतीहरूको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान ढाँचा तथा पुस्तकालयीय अध्ययन प्रक्रिया अपनाइएको यस अध्ययनमा विभिन्न द्वितीयक स्रोतबाट प्राप्त सामग्रीका आधारमा व्यवहारवादी सिद्धान्तका विविध पक्षहरूको समीक्षा गर्दै यसको व्यावहारिक उपयोगिताको मूल्याङ्कन गरिएको छ । नेपाली भाषा शिक्षणको प्रारम्भिक चरणमा शुद्ध उच्चारण, वर्णविन्यास, शब्दभण्डार विकास र व्याकरणका नियमहरूको पुनरावृत्ति एवम् अभ्यासका लागि उद्दीपक, प्रतिक्रिया र पुनर्बल जस्ता व्यवहारवादी मान्यताहरू प्रभावकारी देखिएका छन् । यद्यपि, विद्यार्थीको सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति, आलोचनात्मक चिन्तन र उच्च तहको संज्ञानात्मक क्षमता विकासमा यसको योगदान सीमित रहनु तथा सिकारुको सक्रिय सहभागिताभन्दा प्रतिक्रियात्मक व्यवहारमा बढी जोड दिनु यसका प्रमुख चुनौतीहरू हुन् । ‘रिलेसनल फ्रेम थ्योरी’ को आधुनिक दृष्टिकोणबाट विश्लेषण गर्दा मानव भाषा केवल बाह्य उत्तेजना र प्रतिक्रियाको उपज मात्र नभई एक सम्बन्धात्मक र संज्ञानात्मक प्रक्रिया पनि हो भन्ने पुष्टि हुन्छ । तसर्थ, नेपाली भाषा शिक्षणलाई प्रभावकारी बनाउन प्रारम्भिक सिप विकासका लागि व्यवहारवाद र उच्च भाषिक सिप तथा समालोचनात्मक सोचका लागि संज्ञानात्मक एवम् सामाजिक–सांस्कृतिक सिद्धान्तको सन्तुलित प्रयोग आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।