हंस उपन्यासमा पर्यावरणीय चेतना
DOI:
https://doi.org/10.3126/kanyaj.v5i1.71090Keywords:
जैविक विविधता, पितृसत्ता, पृथ्वीकेन्द्रित, मानवकेन्द्रित, संरक्षणAbstract
प्रस्तुत हंस उपन्यासमा पर्यावरणीय चेतना शीर्षकको यस आलेखमा पर्यावरणीय समालोचनाका कोणबाट हंस उपन्यासको विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना समकालीन समालोचना हो र पर्यावरणीय समालोचनाका दृष्टिले हंस उपन्यास प्रभावशाली कृति देखिएकाले यस्तो शीर्षक चयन गरिएको हो । विवेच्य उपन्यासमा प्राकृतिक वातावरण विनाश भएकामा चिन्ता प्रकट गरिएको छ भन्ने कुरा पूर्वकार्यबाट जानकारी भए पनि मानव मान्छेले कुन क्षेत्रमा बढी विनाश गरेको छ, मान्छे र पशुपक्षीका स्वभावमा के कस्ता भिन्नता छन् अनि उपन्यासकारले मानवकेन्द्रित विश्वदृष्टि विस्थापित गर्न के कस्ता विचारहरू व्यक्त गरेका छन् भन्ने विषयमा अध्ययनको रिक्तता रहेकाले यस अध्ययनको सान्दर्भिकता देखिएको छ । तसर्थ पर्यावरणीय समालोचनाका प्रतिमानहरू पितृसत्तात्मक संरचनाप्रति विमति, मानवकेन्द्रित विश्वप्रति विमति, मान्छेको लालची स्वभाव, प्रकृतिको संरक्षणमा जोड, पुँजीवादी तथा भौतिकवादी चिन्तनप्रति विमति र आध्यात्मिक चिन्तनप्रति लगावलाई आधार बनाई यस उपन्यासको विश्लेषण गरिएको छ । यसमा पर्यावरणीय समालोचनासँग सम्बन्धित सैद्धान्तिक र प्रायोगिक सामग्री सङ्कलन पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उपन्यासको विश्लेषण पर्यावरणीय समालोचनाका आधारमा गरिएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई तथ्यबाट पनि पुष्टि गरिएकाले आगमनात्मक विधिको आंशिक रूपमा उपयोग गरी यो लेख तयार पारिएको छ । हंस उपन्यासमा स्वैरकल्पनाका माध्यमबाट व्यक्त गरिएका काल्पनिक र अमूर्त सन्देशको व्याख्या र विश्लेषण गरी चराहरूको भन्दा मान्छेको जीवन जटिल र तनावमय देखाएर मान्छे श्रेष्ठ प्राणी हो भन्ने महाख्यानलाई उपन्यासले विनिर्माण गर्नुका साथै पर्यावरण बिग्रिनुमा पुँजीवादी सोच र पितृसत्तात्मक चिन्तन दोषी छ भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।