‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
DOI:
https://doi.org/10.3126/kanyaj.v5i1.71088Keywords:
अविद्या, प्रतीति, प्रवृत्त, त्रिगुण, विषयवासनाAbstract
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका कारण सांसारिक बन्धनमा परी दुःख पाएको र अविद्याले गर्दा भौतिक सुखसुविधाका लागि भौँतारिएको विषयलाई यस लेखमा स्पष्ट पारिएको छ । गुणात्मक ढाँचामा तयार पारिएको यो लेखमा प्रयोग भएका सामग्रीहरू पुस्तकालय कार्यमार्फत सङ्कलन गरिएका छन् । यस अध्ययनमा उद्देश्यमूलक नमुना छनौट पद्धतिलाई अवलम्बन गरेर ‘ऐना’ कथासङ्ग्रहमा सङ्गृहीत ‘समाप्ति’ कथालाई चयन गरिएको छ र यो कृति प्राथमिक स्रोत सामग्री र अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित ग्रन्थहरू, समालोचनात्मक कृतिहरू, लेखहरू एवम् अनुसन्धनात्मक लेखहरू द्वितीय स्रोतका सामाग्री रहेका छन् । यस लेखमा अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यतालाई आधार मानेर कथाशंहरूलाई दृष्टान्त दिएर व्याख्यापरक विधिको प्रयोग गरी विश्लेषण गरिएको छ । यो अनुसन्धानात्मक लेख मूलतः एपिए शैलीमा आधारित छ । ‘समाप्ति’ कथामा मानिसहरू अज्ञानताले गर्दा जीवभाव व्याप्त भएर सांसारिक विषयसुखका पछि लागेर प्रवृत्त मार्गलाई समातेका कारण दुःख भोगेका विषयहरू अद्वैत वेदान्त दर्शनसँग सम्बन्धित छन् । कथामा जतिपनि पात्रहरूले दुःख भोगेका छन्; पागल बनेर हिँडेका छन् र कतिपय त सांसारिक विषयभोगकै कारण निराश बनी जँड्याहा भएर मृत्युवरणसमेत गरेका छन्; ती सबैको कारण जीवभाव नै हो भन्ने यस लेखको निष्कर्ष रहेको छ । मायाका कारण यहाँका पात्रहरू पारमार्थिक यथार्थबाट विमुख भई भौतिक सुख र सुविधाका पछि लागेर आफूलाई दिनप्रतिदिन बन्धनको दलदलमा फसाउँदै लगेका र अन्त्यमा जीवनलाई नष्ट गरेको विषयलाई यस लेखमा मूल रूपमा देखाइएको छ ।