दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
DOI:
https://doi.org/10.3126/kanyaj.v4i1.57071Keywords:
इजारा, करेउली, जाई कटक, रागतान, हुलकुलAbstract
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइभारदारहरूलाई दरबारमा बोलाई राज्यसञ्चालनका लागि आवश्यक पर्ने नीति तथा सुझाव समेटेर दिएको मार्गदर्शनलाई ‘दिव्योपदेश’ (१८३१) भनिन्छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय कार्यको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण÷साक्ष्य र दृष्टान्तका आधारमा पुष्टि गरिएको छ । आवश्यक ठाउँमा पूर्वअध्येताहरूसँग छलफल वा संवाद गर्दै आलेखलाई पूर्णता दिइएको हो । समाज भाषाविज्ञानको सैद्धान्तिक धरातलमा रहेर दिव्योपदेशको विश्लेषण गर्दा शब्दस्रोत, ऐतिहासिकता, शैली, प्रयोजनपरकता, धर्मसंस्कृति, भाषाद्वैत सूक्तिमयता र ध्वनिपरिवर्तन आदि चल (आधार) लाई आधार मानिएको छ । उक्त चलका आधारमा विश्लेषण गर्दा दिव्योपदेशको भाषा केही जटिल, चोखो, मिठो र प्रभावकारी देखिन्छ । शाहले आफ्ना भाइभारदारहरूलाई राजनीति, युद्धनीति, अर्थनीति, परराष्ट्रनीति, व्यापारनीति, देशप्रेमनीति, कृषिनीति आदिका बारेमा महत्त्वपूर्ण उपदेश दिएका छन् । दिव्योपदेशमा व्यक्त विचारहरू समसामयिक, ओजपूर्ण र प्रभावशाली छन् । यस्तो महत्त्वपूर्ण कृतिको समाज भाषावैज्ञानिक विश्लेषण भएको पाइँदैन । तसर्थ यस आलेखमा त्यही रिक्ततालाई पूर्णता दिँदै वर्तमानका पाठकलाई आकर्षित गर्ने गरी भाषिक अनुशीलन गरिएको छ । विचार र विषयवस्तुका दृष्टिले उत्कृष्ट दिव्योपदेशको भाषा मानक नेपाली नभएर मध्यकालीन नेपालीको कथ्य रूपमा छ । ऐतिहासिक भाषा वा कथ्य रूपलाई मानक रूपमा प्रस्तुत गर्दै अर्थ पनि दिइएकाले यो आलेखको औचित्य पुष्टि हुन्छ । समाजशास्त्रीय कोणबाट पनि बलियो रहेको दिव्योपदेशलाई यहाँ समाज भाषाविज्ञानका चलहरूका आधारमा विश्लेषण गरी समसामयिक महत्त्व रहेको निष्कर्ष निकालिएको छ ।