व्याकरणगत वैशिष्ट्य ऋग्वेदका मन्त्रहरूमा

Authors

DOI:

https://doi.org/10.3126/jorh.v2i1.87045

Keywords:

आन्तर्य, इज्या, परिनिष्ठित, प्रातिशाख्य, वाङ्मय

Abstract

अनन्त कालदेखि निरवच्छिन्न रूपमा प्रवाहित हुँदै आइरहेको वाङ्मय परम्पराको पूर्व र पश्चिम दुवैतिर समृद्ध र सम्पन्न विरासत देखापर्छ । पश्चिमभन्दा पूर्व यस धारामा अझ फराकिलो र व्यापक छ । पौरस्त्य परम्परामा वैदिक वाङ्मय नै ज्ञान, विज्ञान, ऋषि, देवता, यज्ञ, युद्ध, भाषा, कला, साहित्य, इतिहास, आयुर्वेद, ज्योतिषलगायत सम्पूर्ण कुरामा भरिपूर्ण, अकाट्य र अपरिवर्तनीय ज्ञान राशिका रूपमा स्थापित भएको छ । तैत्तिरीयब्राह्मणमा ‘अनन्ताः वै वेदाः’ भन्दै वेदको व्यापकता र अनन्तताको ख्यापन गर्ने आर्ष वाक्यहरूद्वारा पनि वैदिक वाङ्मयको महनीयतालाई पुष्टि गरेको देखिन्छ । वैदिक वाङ्मय पछाडिका सबै इतिहास, पुराण र स्मृति ग्रन्थहरूले वेदलाई नै अनुसरण गरेका छन् । सम्पूर्ण वाङ्मय परम्पराहरू भाषामा जीवन्त रहेका हुन्छन् । विशेष गरी पौरस्त्य वाङ्मय परम्परा भाषिक प्रयोगका दृष्टिले विविधतापूर्ण देखिए तापनि व्याकरणका दृष्टिले अत्यन्त परिनिष्ठित देखिन्छ । वैदिक परम्परा हुँदै विकसित भएका इतिहास, पुराण, दर्शन, स्मृति, धर्मशास्त्र, आगम सबै भाषामा अडिएका छन् । यिनीहरू सबैको भाषामा परिनिष्ठितता भईकन पनि व्यापक भिन्नता देखापर्छ । संहिता, ब्राह्मण, आरण्यक र उपनिषद्मा प्रयोग भएको भाषा वैदिक भाषा हो । वैदिक वाङ्मय पछाडिका सबै आर्ष ग्रन्थहरू लौकिक भाषामा संरचित छन् । विभाजनका सन्दर्भमा वेदलाई ऋक्, यजुस्, साम, अथर्व भनी विभाजन गरिए तापनि यो विभाजन प्रतिपाद्य विषयवस्तु र संरचनागत आधारमा विभाजन गरिएको देखिन्छ । भाषिक संरचना र व्याकरणिक नियमको पालना सबैमा समान रूपमा भएको छ । अध्ययनका क्रममा ऋग्वेदलाई सर्वप्राचीन वेद, समृद्ध वेद, ज्ञान विज्ञानले भरिपूर्ण वेद भन्दै गर्दा ऋग्वेद नै वैदिक संहिताको समष्टि उद्घोष हो भन्न सकिन्छ । प्रारम्भमा वेदको पर्यायका रूपमा ऋग्वेद देखा परे तापनि समग्र वेदलाई चार भागमा विभाजन गरेपछि भने स्वतन्त्र रूपमा ती ती वेदहरूका अङ्ग प्रत्यङ्गहरूको समेत अध्ययन अध्यापन गर्ने परम्परा अद्यावधि छ । विभक्त चार संहितामध्ये ऋक्संहिता सबैभन्दा प्राचीन र ठूलो संहिता हो । इन्द्र, वरुण, विष्णु, अग्नि आदि गरिएका प्राकृतिक वस्तुको र वैदिक याग यज्ञको राम्रो निरूपण यसमा पाइन्छ । अष्टक र मण्डल क्रम गरी दुई भागमा विभाजन गरिएको यस वेदमा अष्टक क्रमअनुसार ६४ अध्याय छन् भने मण्डल क्रमअनुसार १० मण्डल छन् । यसरी समग्र ऋग्वेदमा ८५ अनुवाक र १०२८ सूक्तहरू छन् । यी सूक्तहरूमध्ये पुरुषसूक्त, नासदीयसूक्त, विवाहसूक्त र अक्षसूक्तलगायतका केही सूक्तहरूमा विद्यमान भाषिक संरचनाको अध्ययन प्रस्तुत सन्दर्भमा गरिएको छ । वैदिक प्रातिशाख्यको पाणिनीय व्याकरणसँगको आन्तर्यलाई विवेचना गरिएको छ । विशेष गरी ऋग्वेदको भाषा र पाणिनिको भाषामा तुलना गरी त्यसमा विद्यमान समास, सन्धि, तिङन्त, कृदन्त, तद्धित, स्वर आदिको समानता र पार्थक्यलाई नै प्रस्तुत अनुसन्धानमा स्पष्ट पारिएको छ । उदाहरणका लागि नासदीय सूक्तको पहिलो सूक्त–
“नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो व्योमा परो यत् ।
किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम् ।।”
पाणिनीय व्याकरणअनुसार कस्य शर्मन् यहाँ सप्तम्यन्त शर्मणि हुनुपर्नेमा वेदमा विभक्तिको लोप भएर शर्मन् यस्तो प्रयोग भएको छ । विभक्तिको लोप भए तापनि शेष पदले लोप भएको विभक्तिको अर्थलाई बताउने गर्छ । यही मन्त्रमा लौकिक व्याकरणमा किम् शब्दबाट सप्तम्यर्थमा त्रल् प्रत्यय भए पछि कुत्र बनाइन्छ भने वेदमा त्यही अर्थका लागि हप्रत्यय गरेर कुह बनाइएको छ । यसै गरी पुरुषसूक्तको १२औँ मन्त्रमा पनि मुखम्, बाहू, ऊरू पदहरूमा विभक्तिको लोप भएको छ । यी र यस्तै भाषिक संरचनाको अध्ययन प्रस्तुत अनुसन्धानमा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF (नेपाली)
1

Published

2025-12-02

How to Cite

Kandel, Y. (2025). व्याकरणगत वैशिष्ट्य ऋग्वेदका मन्त्रहरूमा. Rigvedic Himalaya, 2(1), 57–65. https://doi.org/10.3126/jorh.v2i1.87045

Issue

Section

Articles