मगर मातृभाषी शिक्षकद्वारा नेपाली भाषा शिक्षण : चुनौती र अवसर
DOI:
https://doi.org/10.3126/joaa.v13i1.86270Abstract
‘मगर मातृभाषी शिक्षकद्वारा नेपाली भाषा शिक्षण : चुनौती र अवसर’ शीर्षकको प्रस्तुत अध्ययनको उद्देश्य मगर मातृभाषिक पृष्ठभूमिका नेपाली विषय शिक्षकको नेपाली भाषा शिक्षण अनुभव विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित प्रस्तुत अध्ययनमा तनहुँ जिल्लामा माध्यमिक तहमा नेपाली भाषा विषय अध्यापन गर्ने चारजना मगर मातृभाषी शिक्षकहरूलाई उद्देश्यपूर्ण नमुना छनौट पद्धतिद्वारा चयन गरी प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको छ । अन्तर्वार्ताबाट प्राप्त तथ्याङ्कलाई गुणात्मक पद्धतिमा आधारित भई व्याख्या विश्लेषण गरिएको छ । अध्ययनमा द्वितीयक स्रोतका सामग्री पनि प्रयोग भएका छन् । व्यवस्थित रूपमा सहभागीहरूको अनुभवलाई विश्लेषण गर्दै जाँदा मगर मातृभाषी नेपाली विषय शिक्षकलाई उच्चारण, लबज, पदसङ्गति, शुद्धाशुद्धी र मानक प्रयोगमा समस्या हुने गरेको निष्कर्ष प्राप्त भएको छ । मगर मातृभाषी विद्यार्थीको बाहुल्यता भएको विद्यालयमा सेवारत मगर मातृभाषी नेपाली विषय शिक्षकलाई भने बाधा कम सहजता धेरै भएको पाइयो । नेपाली अध्यापन गर्ने मगर मातृभाषी शिक्षकहरूले पनि सचेततापूर्वक प्रशस्त अध्ययन र अभ्यास गरेर प्रभावकारी तरिकाले नेपाली शिक्षण गर्दा खासै समस्या नपरेको निष्कर्ष प्राप्त भयो । सम्बन्धित शिक्षकले आफ्नो मातृभाषाको भाषिक व्यवस्था र नेपाली भाषाको भाषिक व्यवस्थाको व्यतिरेकी अध्ययन गरेर नेपाली शिक्षणलाई स्तरीय बनाउनुपर्ने आवश्यकता देखिन्छ ।