'सारस्वतेय' महाकाव्यमा सादृश्यमूलक अलङ्कार

Authors

  • Tirtha Raj Bhattarai

Keywords:

अर्थवैचित्र्य, अर्थसौन्दर्य, उपमा, काव्यसौन्दर्य, सारस्वतेय महाकाव्य

Abstract

पीताम्बरभोला लम्सालको 'सारस्वतेय' (२०४७) महाकाव्यमा प्रयुक्त सादृश्यमूलक वर्गका अलङ्कारहरूको विश्लेषणमा यो लेख केन्द्रित रहेको छ । उपमान र उपमेयमा समान धर्म भएका अलङ्कारहरूलाई सादृश्यविच्छित्तिमूलक अलङ्कार भनिन्छ । यस्ता अलङ्कारहरूलाई साधर्म्यमूलक अलङ्कार पनि भनिन्छ । यस वर्गका अलङकारहरूमा दुई वस्तुका बिचमा द्रव्य, गुण, जाति, क्रिया, स्वरूप जस्ता कुरामा समानता प्रस्तुत गरिन्छ । 'सारस्वतेय' महाकाव्यमा सादृश्यमूलक वर्गका अलङ्कारहरूको प्रयोग के कसरी गरिएको छ भन्ने समस्याको समाधानार्थ अलङ्कारहरूको प्रयोग स्थिति पत्ता लगाउनु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । यस अध्ययनमा पुस्तकालयबाट सामग्री सङ्कलन गरिएका 'सारस्वतेय' महाकाव्यका नमुना श्लोकहरू प्राथमिक स्रोतका सामग्री र 'सारस्वतेय' महाकाव्यको विश्लेषणसँग सम्बन्धित सामग्री द्वितीयक स्रोतका सामग्री रहेका छन् । यसको अध्ययन ढाँचा गुणात्मक प्रकृतिको रहेको छ । 'सारस्वतेय' महाकाव्यमा अलङ्कार प्रयोगको अवस्था अध्ययनका लागि सूक्ष्म पठन विधिका माध्यमबाट सामग्री सङ्कलन गरिएको छ । ती सामग्रीहरूको अर्थापन, अलङ्कारको सैद्धान्तिक अवधारणा र सादृश्यमूलक वर्गका अलङ्कारहरूको लक्षण पहिचानका लागि मूलतः पूर्वीय अलङ्कार सिद्धान्तलाई आधार बनाइएको छ । यस लेखमा 'सारस्वतेय' महाकाव्यका श्लोकहरूको अर्थापनका क्रममा वर्णनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । उक्त महाकाव्यका अर्थालङ्कारहरूको प्रयोगावस्थाको स्थिति पहिचान गर्नका लागि मूलतः रुय्यकद्वारा स्थापित अलङ्कारसिद्धान्तको सहयोग लिइएको छ भने अर्थसौन्दर्य प्रकाशित भएका श्लोकहरू उदाहरणका रूपमा प्रस्तुत गरी तिनको व्याख्या गरिएको छ । अन्त्यमा 'सारस्वतेय' महाकाव्यमा प्रयोग भएका विविध अलङ्काहरूको सहज तथा स्वतःस्फूर्त अभिव्यक्तिले महाकाव्यको कथ्यअर्थ आस्वादनयुक्त भई महाकाव्यको काव्यात्मक उच्चता बढेको छ भन्ने निष्कर्ष निकालिएको छ । यस अध्ययनबाट 'सारस्वतेय' महाकाव्यमा सादृश्यमूलक वर्गका के कस्ता अलङ्कारहरूको के कसरी प्रयोग गरिएको छ भन्ने कुरा जान्न चाहने जिज्ञासुहरू लाभान्वित हुनेछन् ।

Abstract
14
PDF
6

Downloads

Published

2026-07-31

How to Cite

Bhattarai, T. R. (2026). ’सारस्वतेय’ महाकाव्यमा सादृश्यमूलक अलङ्कार. Journal of Janta Multiple Campus, 5(1), 55-76. https://doi.org/10.3126/jjmc.v5i1.97983

Issue

Section

Research Articles

How to Cite

Bhattarai, T. R. (2026). ’सारस्वतेय’ महाकाव्यमा सादृश्यमूलक अलङ्कार. Journal of Janta Multiple Campus, 5(1), 55-76. https://doi.org/10.3126/jjmc.v5i1.97983