कक्षाकोठामा उत्प्रेरणा व्यवस्थापन
DOI:
https://doi.org/10.3126/jjmc.v4i1.77986Keywords:
अभ्यास, आकाङ्क्षा, उत्प्रेरणा, निर्देशन, प्रतिस्पर्धाAbstract
शिक्षण सिकाइ कार्य प्रभावकारी बनाउन शिक्षक तथा विद्यार्थीलाई नियमित रूपमा आवश्यकताअनुसार उत्प्रेरणा प्रदान गर्न आवश्यक हुन्छ । भौतिक मात्र होइन अभौतिक उत्प्रेरणाको साधनको समेत प्रयोग गर्न सकिन्छ । शैक्षिक व्यवस्थापन भनेको उपलब्ध स्रोतसाधन र समयको अधिक प्रयोग र परिचालन गरी अधिकतम उपलब्धि हासिल गर्ने प्रक्रिया हो । यसमा सिकाइको योजना, सङ्गठन, निर्देशन, समन्वय, नियन्त्रण, स्टाफिङ र अभिप्रेरणाले महत्त्वपूर्ण भूमिका खेल्छन् । विद्यालयका शिक्षकले उत्प्रेरणाको सहज प्रयोग गरी सिकाइ प्रक्रियालाई गतिशील बनाउन सक्छन् भने उनको पेसागत सक्षमता पनि बढेर जान्छ । सिकाइको सन्दर्भमा व्यक्ति अन्तर आत्मादेखि नै कार्यप्रति उत्साहित छ भने कार्यको स्तर र मात्रा दुवै बढ्छ । उत्प्रेरणासम्बन्धी शिक्षकको धारणा सकारात्मक नहुँदा सिकाइ प्रक्रियामा पर्ने प्रभावलाई मुख्य समस्या बनाइएको यस लेखमा गुणात्मक ढाँचा अपनाई सूचना सङ्कलनका लागि उद्देश्यमूलक नमुना छनोट विधिको प्रयोग गरिएको छ । चार जना शिक्षक र छ जना विद्यार्थीलाई नमुना छनोट गरी प्रश्नावली, अन्तर्वार्ता, कक्षा अवलोकन, समूह छलफल गरी प्राप्त नतिजालाई प्रस्ट पार्ने प्रयास गरिएको छ । शिक्षण सिकाइमा उत्प्रेरणाको प्रयोगको अवस्था के कस्तो छ र यसमा शिक्षकको भूमिका के हुन सक्छ भन्ने कुरालाई उद्देश्यका रूपमा राखिएको यस अध्ययनमा अनुभवजन्य तथा सैद्धान्तिक समीक्षालाई आधार बनाइएको छ । यसैगरी यस लेखमा कक्षाकोठामा उत्प्रेरणा प्रयोगको अवस्था, यसप्रतिको शिक्षकको धारणा तथा उनीहरुको भूमिकालाई प्रस्ट पारिएको छ । शिक्षकले आवश्यकताअनुसार उत्प्रेरणाको प्रयोग गर्न सक्ने र यसको प्रयोग सकारात्मक तथा नकारात्मक दुवै हुने भएकाले सकारात्मक उत्प्रेरणाको प्रयोगमा बढी जोड दिनु पर्ने र यसबाट सिकाइ प्रक्रियाले गति लिने निचोड यस लेखको रहेको छ ।