अरिस्टोटलका अनुकरण र विरेचन सिद्धान्त
DOI:
https://doi.org/10.3126/jdr.v8i1.57142Keywords:
त्रासदी,, , प्रकृति, मानसिक शुद्धि, मूल आदर्श, सत्यAbstract
अरिस्टोटलका अनुकरण तथा विरेचनसिद्धान्तलाई सङ्क्षिप्त एवं प्रस्टरूपमा प्रस्तुत गर्ने उद्देश्यमा केन्द्रित यस लेखका लागि पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरिएको छ र यसरी सङ्कलित सामग्रीको विश्लेषण गरेर सिद्धान्तको परीक्षण गरिएको छ । लेखमा अरिस्टोटल एवं प्लेटोको सङ्क्षिप्त परिचय दिई अनुकरण सम्बन्धी प्लेटोको दृष्टिकोणको सङ्क्षिप्त चर्चा गर्दै अरिस्टोटलको अनुकरण सिद्धान्तलाई प्रस्तुत गरिएको छ । सम्पूर्ण कला अनुकरणका प्रकारका रूपमा रहेका, तिनीहरू केवल अनुकरणका माध्यम, विषय र प्रविधिले ललित कलाका शाखा–प्रशाखामा विभाजित हुने र साहित्यमा भाषाका माध्यमले प्रकृति वा जीवनजगत्का अन्तरङ्ग एवं बहिरङ्ग पक्षको अनुकरण गरिने कुरा औँल्याइएको छ । स्वयंमा पुरै सामञ्जस्य एवं सङ्गतिपूर्ण नरहेको प्रकृतिका असङ्गतिपूर्ण, भावमुक्त, अशक्त र अशिव (अकल्याणकारक) पक्षलाई साहित्यकारमा भएको सामञ्जस्य एवं सङ्गतिको चेतनाले सङ्गतिपूर्ण, भावयुक्त, सशक्त र शिव (कल्याणकारक) बनाएर प्रस्तुत गर्दछ भन्ने अरिस्टोटलको आशय औँल्याउँदै प्लेटोका दृष्टिमा अनुकरणको अर्थ मूल आदर्शको अनुकरण थियो भने अरिस्टोटलका दृष्टिमा अनुकरणको तात्पर्य कल्पनात्मक पुनःसृजन रहेको कुरा प्रस्ट पारिएको छ । विरेचनका सम्बन्धमा विभिन्न व्याख्याकारहरूद्वारा प्रस्तुत सबै अर्थहरू अरिस्टोटलका निम्ति अभिप्रेत थिए कि थिएनन् भन्ने निश्चय गर्नु अत्यन्त कठिन रहेको र यस विषयमा केवल अनुमान मात्र गर्न सकिने कुरा औँल्याउँदै चिकित्सा शास्त्रबाट उनले मूल शब्द लिएका, धार्मिक सङ्गीततर्फ पनि उनले सङ्केत गरेका र मानसिक शुद्धिको चर्चा पनि उनको ‘राजनीति शास्त्र’ मा उपलब्ध रहेको कुरा प्रस्तुत गरिएको छ र अरिस्टोटलले धार्मिक (धर्मपरक), नैतिक (नीतिपरक), कलात्मक (कलापरक) तीनै अर्थमा विरेचनको तात्पर्य ग्रहण गरेको निचोड दिइएको छ ।