तत्सम समासका बहिरङग प्रक्रियाः सञ्चलन, प्रत्यागम र सन्धि
DOI:
https://doi.org/10.3126/jdmc.v3i4.80550Keywords:
पदविधि, निपात, सञ्चलन, रुपध्वनि, प्रत्यागमAbstract
यो अध्ययन मूलतः तत्सम समासका बहिरङ्ग प्रक्रियाहरु सञ्चलन, प्रत्यागम र सन्धिका विषयसँग सम्बन्धित छ । तत्सम समास प्रक्रियाका नियमहरु संस्कृत भाषाका व्याकरण ग्रन्थहरुमा पाइन्छन् । समास प्रक्रियाका लागि पाणिनिको व्याकरण सर्वमान्य र आधिकारिक व्याकरण हो । पाणिनिले समास प्रक्रियामा लागु हुने नियमसूत्र बनाउनुका साथै यी सूत्रहरु लगाएर समस्त शब्द सिद्ध हुने प्रक्रिया पनि देखाएका छन् । पाणिनीय व्याकरणानुसार समास एक शब्दवृत्ति हो भने समस्त शब्द चाहिँ व्युत्पादित प्रातिपदिक हो । यसमा पुनः तद्धित प्रत्यय लागेर अन्य शब्दसमेत निर्माण हुन्छन् । तत्सम समास प्रक्रियामा विग्रहविधान, प्रतिबन्धन, स्थान्यादेश, सञ्चलन, रुपागम, आदेश, सन्धि तथा रुपध्वनिका अनेकन विधिविधानहरु लागु हुन्छन् । तत्सम समासमा लागु हुने प्रक्रियाहरु नेपालीका तद्भव समासका भन्दा फरक छन् । तत्सम समास प्रक्रियालाई सूक्ष्मरुपले सम्झाउन यसका बहिरङ्ग र अन्तरङ्ग प्रक्रियाहरुलाई अलगअलग चर्चा गर्नु मनासिव हुने भए तापनि आजसम्म यसरी अध्ययन गरिएको देखिँदैन । यहाँ त्यसैलाई शोधान्तराल बनाई समास प्रक्रियाका बहिरङ्ग पक्षहरुः सञ्चलन, रुपागम र सन्धिप्रक्रियाबारे जानकारी गराउने उद्देश्य राखेर पाणिनीय व्याकरणमा चर्चा भएका समासान्त विधिभित्रका प्रत्ययागम, सामासिक सन्धि र पूर्वनिपातका विषयमा मात्र सङ्ंक्षिप्त चर्चा गरिएको छ । अध्ययन प्रतिवेदनमा गुणात्मक ढाँचा अँगालिएको छ भने प्राथमिक र द्वितीय दुबै स्रोतका दस्तावेजहरुको अध्ययनबाट सङ्कलित सूचना र तथ्यलाई विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । पाणिनिको अष्टाध्यायीका सम्बधित पाद, लघुसिद्धान्त कौमुदीका टीकाग्रन्थहरु र आवश्यक अन्य केही द्वितीय स्रोतका ग्रन्थहरुबाट समेत सामग्री सङ्ंकलन गरिएको छ भने वर्णनात्मक पद्धतिमा तथ्यप्रस्तुति गर्दै समासको बहिरङ्ग प्रक्रियाको संङ्क्षिप्त जानकारी गराउने लक्ष्य पूरा गरिएको छ । समास प्रक्रियामा सञ्चलन, सन्धि र रुपागमका परिवर्तनहरु कसरी भएका हुन्छन् ? जानकारी गराउँँदै सञ्चलन, रुपागम र सन्धिका नियमहरु बहिरङ्ग प्रक्रियामा पर्ने निष्कर्ष निकालिएको छ ।