नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
DOI:
https://doi.org/10.3126/iimrjbc.v3i1.81397Keywords:
ऐतिहासिकता, राजनीतिक परिवेश, विधिनिषेध, सांस्कृतिक परिवेश, सामाजिक परिवेशAbstract
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक इतिहासमा आधारित छ । यसका मुख्य घटना, पात्र र परिवेश इतिहाससम्मत छन् । राजेन्द्र विक्रम शाहको राज्यकालको परिवेशलाई यसमा उभ्याइएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । सामग्री विश्लेषणका लागि सैद्धान्तिक आधार नवइतिहासवादी सिद्धान्तलाई बनाइएको छ । नवइतिहासवादी समालोचना सन् १९७० को दशकदेखि देखापरेको र सन् १९८० को दशकदेखि स्पष्ट मान्यताका साथ प्रयोगमा आएको साहित्यिक समालोचनासिद्धान्त हो । निश्चित समयको निश्चित ऐतिहासिक अवस्थाको सांस्कृतिक अध्ययनको नयाँ पद्धतिका रूपमा बेलायतमा सांस्कृतिक भौतिकवाद र अमेरिकामा नवइतिहासवाद विकसित भएको देखिन्छ । सांस्कृतिक भौतिकवाद रेमन्ड विलियम्सको मान्यता हो । उनले सामाजिक विकासको आधार माक्र्सले भने जस्तै ऐतिहासिक भौतिकवादलाई माने तर आर्थिक आधार मानेनन् । उनले सामाजिक परिवर्तन आर्थिक कारणले नभएर सांस्कृतिक कारणले हुन्छ भन्ने विचार प्रकट गरेका छन् र आफ्नो मान्यतालाई सांस्कृतिक भौतिकवाद भनेका छन् । नवइतिहासवादमा मिसेल फुकोको निकै प्रभाव परेको छ । नवइतिहासवाद सन् १९७० को दशक र १९८० को दशकको आरम्भतिर माक्र्सवाद, मानवशास्त्र र इतिहासदर्शनका प्रभावमा देखापरेको हो । यसको आरम्भ साहित्य र अमेरिकी सांस्कृतिक अध्ययनबाट भएको हो । यसको नामकरण अमेरिकी समालोचक स्टेफेन ग्रीनब्लाटले गरेका हुन्। निश्चित समयको निश्चित ऐतिहासिक अवस्थाको सांस्कृतिक अध्ययनको नयाँ पद्धतिका रूपमा बेलायतमा सांस्कृतिक भौतिकवाद र अमेरिकामा नवइतिहासवाद विकसित भएको हो । नव इतिहासवाद इतिहासवादको उत्तरवर्ती रूप हो । तर इतिहासवादले पाठको ऐतिहासिक घटनालाई यथार्थका रूपमा लिन्छ भने नवइतिहासवादले विविध सन्दर्भका आधारमा लिन्छ । ऐतिहासिक सन्दर्भ यस अध्ययनको मुख्य अवधारणा हो र राजनीतिक, सामाजिक, सांस्कृतिक परिवेश त्यसको मापन गर्ने सूचक हुन् । यस उपन्यासमा ऐतिहासिक सन्दर्भ राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवेशका माध्यमबाट प्रकट गरिएको छ । नेपालको तत्कालीन राजनीति अन्योलग्रस्त, षड्यन्त्रपूर्ण र हत्याहिंसायुक्त देखिन्छ । उपन्यासमा चित्रित समाजले तत्कालीन समाज पुरुषप्रधान, जातीय र वर्गीय विभेद भएको देखिन्छ । तत्कालीन समयका व्यक्तिहरूमा धार्मिक आस्था र विश्वास धेरै देखिन्छ । जाति र समुदायअनुसार रीतिरिवाज भिन्न देखिन्छ । ऐतिहासिक सन्दर्भका दृष्टिले प्रस्तुत उपन्यास सफल रहेको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।