बैँसको मान्छे उपन्यासमा वर्गीय अनुभूति
Keywords:
दबाब र तनाव, अनुभूतिको संरचना, प्रभुत्वशाली वर्ग, उत्पीडित वर्ग, नवउदीयमान पिँँढीAbstract
प्रस्तुत लेख उपन्यासकार पारिजातद्वारा रचित बैँसको मान्छे (२०२९) उपन्यासमा केकस्ता वर्गीय अनुभूति केकसरी अभिव्यक्त छन् भन्ने प्राज्ञिक जिज्ञासामा केन्द्रित छ । यसै शोधसमस्यामा आधारित रहेर प्रस्तुत उपन्यासमा अभिव्यक्त वर्गीय अनुभूतिको पहिचान र विश्लेषण गरिएको छ र त्यस आधारमा पञ्चायकालीन नेपाली समाज र संस्कृतिको खोजी गरिएको छ । त्यसक्रममा साहित्यिक समाजशास्त्रको विश्लेषणार्थ विकसित रेमन्ड विलियम्सको अनुभूतिको संरचना सम्बन्धी सैद्धान्तिक अवधारणालाई कृति विश्लेषणको प्रमुख ढाँचाका रूपमा उपयोग गरिएको छ । यस उपन्यासमा पञ्चायती शासनव्यवस्थासम्म नै निरन्तर प्रवाहमा रहेको मूलधारको सामन्तवादी संस्कृतिमा प्रभुत्वशाली वर्गद्वारा अधीनस्थ रहेको निम्नवर्गले झेलिरहेको उत्पीडन तथा सहनको संस्कृतिमा तिनको अभ्यस्ततालाई मात्र होइन त्यस वर्गका युवा पिँढीमा उदाउँदो प्रतिरोधी चेतमा निर्मित अनुभूतिले पनि सशक्त रूपमा संरचनात्मक स्वरूप प्राप्त गरेको छ । त्यस क्रममा दीनता र निराशामा सिर्जित दबाब र तनावका कुण्ठाजन्य अनुभूतिसँगै प्रतिकार चेतमा निम्नवर्गका युवा पिँढीमा नवउदीयमान अनुभूति निर्माण हुँदै गएको अवस्थाको चित्रण उपन्यासको सबल पक्ष बनेको छ । त्यसै परिप्रेक्ष्यमा लेखको अन्त्यमा पूर्वउदीयमान वर्गका पिँढीगत अनुभूतिका संरचनाका माध्यमले परिवर्तनउन्मुख सामाजिक संस्कृतिलाई पनि प्रस्तुत उपन्यासले सङ्केत गर्नसकेको निष्कर्ष प्रस्तुत छ ।