बौद्ध र हिन्दूको समन्वय : करुणामय आर्यावलोकितेश्वर
DOI:
https://doi.org/10.3126/hisan.v11i1.92749Keywords:
आदिनाथ कामाक्ष, मच्छिन्द्रनाथ, आर्यावलोकितेश्वर, लोकनाथAbstract
नेपालको धार्मिक र सांस्कृतिक परम्परामा यस्ता धेरै चाडपर्व र देवी देवताहरू छन् जसलाई हिन्दू वा बौद्धको भनी बिभाजन गर्न सम्भव हुँदैन । बरु मान्ने र मनाउने परम्परा वा विधि भने फरक फरक हुन सक्दछ । त्यस्तै देवता र जात्रा आर्यावलोकितेश्वर वा सेतो मच्छिन्द्रनाथ पनि पर्दछ । परापूर्वकालदेखि नै धार्मिक आस्था र समन्वयको आधार मानिदै आएको नेपालमा बौद्ध र हिन्दू धर्मावलम्बीहरूले समान रूपले मान्ने देवी देवताहरू मध्ये करुणामय लोकेश्वरहरू पनि प्रमुख हुन् । जसलाई हिन्दू र बौद्ध दुबैले आ—आफ्नै आस्था र विश्वासमा आ—आफ्नै विधि र परम्परा अनुसार मान्दै मनाउदै आएका छन् । सत्ययुगमा सुखवती भूवनबाट मृत्युमण्डलमा आएको मानिने करुणामय लोकेश्वरहरू मध्ये चार प्रसिद्ध लोकेश्वरहरूमा रातो मच्छिन्द्रनाथ (रक्तावलोकितेश्वर), आदिनाथ आनन्दादि लोकेश्वर), नाला करुणामय (सृष्टिकान्त लोकेश्वर) र सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) रहेका छन् । महायान बौद्ध धर्मको वज्रयान परम्परामा उपत्यकाका बौद्धहरूले सेतो मच्छिन्द्रनालाई आफ्नो सम्प्रदायमा आर्यावलोकितेश्वर बोधिसत्वको रूपमा मान्दछन् । त्यस्तै सनातन वा हिन्दू परम्परामा शैवधर्मावलम्बीको नाथ सम्प्रदायले विशेष गुरुको रूपमा मान्दछन् भने सनातनका अरु सम्प्रदायले पनि सहकालमा अरु हिन्दू देवी देवताकै जस्तै उच्च स्थानमा राखी पुज्ने गर्दछन् । कतिपय तिथि र विशेष दिनहरू दुबैका लागि एकै दिनमा पनि परेका हुन्छन् भने जात्रामा भने दुबै पक्षको निश्चित काम वा जिम्मेवारी रहेको हुन्छ । यसरी नेपालमा जसको पूजा पाठ र जात्रा परम्परामा नेपालमा दुबै धर्मावलम्बीहरूले आफ्नो विधि र परम्परा अनुसार समन्वयात्मक रूपमा मान्दै आएका छन् । यो नेपालको मौलिक अभ्यास र पहिचान बनिरहेको देखिन्छ ।