आतोओडा उपन्यासको विधातात्त्विक विश्लेषण
Keywords:
अनागरिकता, आतोओडा, विधातत्त्व, सन्थाल, सीमान्तीकरण, पूर्वदीप्ति शिल्प, प्रतिरोधAbstract
प्रस्तुत लेख जानुका खतिवडाद्वारा लिखित सामाजिक-यथार्थवादी उपन्यास आतोओडा (२०८१) को विधातात्त्वि विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा पूर्वी नेपालको झापा जिल्लामा बसोबास गर्ने सीमान्तकृत, अल्पसङ्ख्यक एवं भूमिहीन सन्थाल (सतार) समुदायको सङ्घर्षलाई मुख्य कथ्य बनाइएको प्रस्तुत उपन्यासमा विधागत अवयवहरूको संयोजन केकसरी भएको छ भन्ने कुरालाई समस्याका रूपमा निर्धारण गरिएको छ भने विधातत्त्वहरूको समङ्लुठन तथा यी तत्त्वहरूका माध्यमबाट व्यक्त भएको सौन्दर्यको विश्लेषणलाई यस अध्ययनको उद्देश्य बनाइएको छ । गुणात्मक अनुसन्धान पद्धति र पाठपरक विश्लेषणमा आधारित यस अध्ययनमा उपन्यासको मूल पाठलाई प्राथमिक स्रोत र सम्बद्ध समालोचनात्मक लेखहरूलाई द्वितीयक स्रोतका रूपमा ग्रहण गरिएको छ । परम्परागत रैखिक ढाँचाभन्दा फरक अतीत र वर्तमानको दोहोरो यात्रा गराउने पूर्वदीप्ति शिल्पको प्रयोग गरी सन्थाल जातिका जातीय तथा वर्गीय पहिचानको स्वरलाई उठाइएको तथ्यलाई यस लेखले अगाडि ल्याएको छ । व्यवस्था बदलिए पनि राज्यसत्ता, भूमाफिया र बजारिया टाठाबाठाहरूको षड्यन्त्रका कारण भुइँमान्छेहरू अझै पनि अनागरिक र सुकुम्बासी बन्नुपरेको कटु राजनीतिक विडम्बनालाई उपन्यासले विधागत अवयवहरूको कुशल संयोजनमार्फत उदाङ्गो पारेको निष्कर्ष यस लेखबाट प्राप्त भएको छ ।