‘सत्ताको खोजमा’ एकाङ्कीमा लैड्डिक उत्पीडन र प्रतिरोध
Keywords:
उत्पीडन, पितृसत्ता, प्रतिरोध, प्रभुत्वशाली, हिंसाAbstract
प्रस्तुत लेख विजय मल्लको सत्ताको खोजमा एकाङ्कीको लैङ्किक उत्पीडन र प्रतिरोधको विश्लेषणमा केन्द्रित रहेको छ । समाजमा रहेका कुनै पनि व्यक्ति महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै आधारमा उसलाई मानसिक, शारीरिक तथा यौनिक रूपमा आघात पुग्ने गरी गरिएको हिंसालाई लैङ्गिक उत्पीडन र त्यसका विरुद्ध सम्बन्धित पक्षले गरेको प्रतिकारलाई प्रतिरोध भनिन्छ । यस एकाङ्कीमा प्रयुक्त पात्रमा उत्पीडन र प्रतिरोधको प्रयोगको अवस्था के–कस्तो रहेको छ भन्ने मुख्य समस्यामा केन्द्रित भई त्यसको विश्लेषणमा केन्द्रित रहनु यस लेखको उद्देश्य रहेको छ । यसमा पुस्तकालयबाट सङ्कलन गरिएको सत्ताको खोज एकाङ्कीलाई प्राथमिक स्रोतको सामग्री र विभिन्न पुस्तक, पत्रपत्रिका तथा इन्टरनेटमा उपलब्ध सामग्रीलाई द्वितीय स्रोतका सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक ढाँचामा आधारित भई तयार गरिएको यस लेखमा प्रस्तुतीकरणका विधिका रूपमा भने विश्लेषणात्मक विधिको आवलम्बन गरिएको छ । एकाङ्कीमा उत्पीडन र प्रतिरोधको अवस्था पत्ता लगाउन लैङ्गिक उत्पीडनका सन्दर्भ तथा पक्षहरूअन्तर्गत पितृसत्तात्मक सामाजिक परिवेश र स्थापित पुरातन सांस्कृतिक मूल्यभित्र नारीका अवस्थितिको खोजी गरिएको छ । एकाङ्कीमा अभिव्यक्त लैङ्गिक उत्पीडन र प्रतिरोधी चेतनाका सन्दर्भको अध्ययन गरेपश्चात त्यसमा पितृसत्तात्मक सामाजिक संरचनाका कारण निर्णयशक्ति पुरुषमा केन्द्रित रहेको, पुरुष प्रभुत्व कायम रहेको, मनोवैज्ञानिक रूपमा नारीमाथि दमन हुने गरेको र त्यसका विरुद्ध दमित पक्षले प्रतिरोध गरेको साथै पुरुषवादी मानसिकताबाट पुरुषहरू नै पनि उत्पीडित भएको देख्न सकिन्छ । यहाँ लैङ्गिक उत्पीडन, अझ विशेषतः नारी उत्पीडन विरुद्धको प्रतिरोधी चेतना सशक्त रहेको निष्कर्ष प्राप्त भएको छ ।