नेपाली धातुको संरचनात्मक स्वरूप
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77330Keywords:
भाववाचक नाम, भाषाको अनौपचारिक भेद, विध्यर्थक क्रिया, शब्दमूल, समापक क्रियाAbstract
भाषाको केन्द्र वाक्य, वाक्यको केन्द्र क्रिया र क्रियाको केन्द्र धातु हो । धातुबाटै भाषाको बीजाङ्कुरण हुन्छ, हुर्कन्छ, लहराउँछ र वाक्यात्मक संरचनाका महत्त्वपूर्ण पक्षको विकास हुन्छ । हरेक भाषामा क्रियामूलको रूपमा रहेका धातुको आफ्नै विशिष्ट संरचनात्मक स्वरूप हुन्छ । नेपाली भाषाका धेरैजसो धातु मौलिक प्रकृतिअनुरूप आफैँ बनेका छन् भने केही धातु नामिक शब्दमा अथवा मूल धातुमा नै प्रत्यय लगाएर बनाइएका छन् । नेपाली भाषाको मौलिक प्रकृतिअनुरूप बनेका मूल धातु हुन् भने प्रत्यय लगाएर बनाइएका धातु व्युत्पन्न हुन् । अक्षर संरचनाका आधारमा मूल धातु एकाक्षरी र अनेकाक्षरी छन् भने रचना आकृतिका आधारमा स्वरान्त र व्यञ्जनान्त छन् । अकर्तृवाचक, प्रेरणार्थक र नामधातु गरी व्युत्पन्न धातु तीन किसिमका छन् र सबै व्युत्पन्न धातु अनेकाक्षरी स्वरान्त छन् । बनाइएका धातु प्रातिपदिकका रूपमा रहेका हुन्छन् र यिनै प्रातिपदिकबाट नेपाली भाषामा क्रियापदका कैयौँ रूप बनेर प्रयोगमा रहेका पाइन्छन् । नेपाली भाषाका कथ्य र लेख्य दुबै भेदमा प्रयोग हुने क्रिया मूललाई प्राथमिक सामग्री मानिएको यस अनुसन्धानात्मक लेखमा नेपाली भाषा एवम् यस भाषाका विभिन्न भाषिकामा प्रयोग हुने धातुको निर्माण प्रक्रिया तथा स्रोतसहितलाई विश्लेषण गरिएको छ साथै नेपाली भाषामा प्रयुक्त धातुहरूको संरचना एवम् तिनको अवस्थालाई पनि प्रस्तुत गरिएको छ ।