‘अभाव’ कविताको संरचनात्मक विश्लेषण
DOI:
https://doi.org/10.3126/dmcrj.v6i01.73771Keywords:
अभिमुखीकरण, पङ्क्तिपुञ्ज, पुष्टीकरण, संरचना, समाख्याताAbstract
प्रस्तुत अध्ययनमा कविताको संरचनात्मक विश्लेषणको अवधारणालाई आधार बनाई अरुणा वैद्यको प्रगीतात्मक कविता ‘अभाव’ को विश्लेषण गरिएको छ । कविताको संरचनाले कविताको रूप पक्षको बढी अध्ययन गर्दछ । पाश्चात्य तथा नेपाली समालोचना क्षेत्रका विभिन्न संरचनावादीहरूको मान्यतालाई आधार मानी कविताको बाहिरी बनोट र बुनोटको अध्ययनबाट कविताको आन्तरिक सबलताको पक्षको खोज यस अनुसन्धानात्मक लेखमा गरिएको छ । यसका लागि विश्लेषणात्मक विधिको उपयोग भएको छ । संरचना शब्दले विभिन्न वस्तु वा अवयवको सार्थक मिलनद्वारा निर्मित कृतिको सिङ्गो स्वनिष्ठ आकृति वा रूपलाई जनाउँछ । साहित्यको संरचनात्मक विश्लेषण गर्न यसको सैद्धान्तिक क्षेत्रमा प्रयोग हुने यसै तथ्यलाई समेत आधार मानिएको छ । ‘अभाव’ कविताको संरचना केकसरी भएको छ र त्यस्तो संरचनाले मूल कथ्य वा भावलाई कसरी व्यक्त गरेको छ भन्ने उद्देश्य राखी यस लेखमा अध्ययन गरिएको छ । यस लेखमा ‘अभाव’ कविताको बाह्य र आन्तरिक संरचनाको चिरफार गरी मानव जीवन अभावग्रस्त रहेको र यसले सिङ्गो मानव सभ्यतालाई नै चुनौती दिइरहेकोप्रति कविताले व्यङ्ग्य गरेको निष्कर्ष निकालिएको छ ।