जलवायु परिवर्तनको ज्ञान तथा न्यूनीकरणका प्रयासहरू
DOI:
https://doi.org/10.3126/dmcj.v9i8.74878Keywords:
अनुसन्धान, जलवायु वरिवर्तन, तथ्याङ्क, न्यूनीकरण, प्रतिशत, विश्लेषणAbstract
जलवायु परिवर्तन विश्वको एक महत्त्वपूर्ण समस्या हो । यसका कारण पृथ्वीमा बसोबास गर्ने मानव जातिका लागि ठुलो चुनौती देखापरिरहेको छ । मानिसले समयमै यसका बारेमा गम्भीर रूपले सोचेर व्यवहारमा परिवर्तन ल्याउन नसके ठुलो सङ्कट उत्पन्न हुन सक्छ । त्यसैले यो अनुसन्धानबाट प्राप्त नतिजालाई नेपाल लगायत विश्वको जुनसुकै भूगोलमा पनि सामान्यीकरण गर्ने गरी खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अध्ययन गरिएको हो , यो अनुसन्धान परिमाणात्मक ढाँचामा आधारित रही दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सम्भाव्य नमूना छनोट विधि अन्तर्गत चिठ्ठा विधिको माध्यमबाट वडा नं. १, २, ३, ४ र ५ का ४६९६ घरधुरीबाट कम्तीमा १ जनाको सम्बोधन हुनेगरी ४६९६ जनसङ्ख्यालाई अध्ययन जनसङ्ख्याको रूपमा लिई Solvin, 1960 को सुत्र (Kafle, & Nepal, 2075) लाई अवलम्बन गरी ४ प्रतिशत त्रुटिको सम्भावना राखी जम्मा ७०० घरधुरीबाट १ जना प्रतिनिधिलाई अनुसन्धानको केन्द्रमा राखी उद्देश्यमूलक ढङ्गबाट प्राथमिक तथा द्वितीय स्रोतबाट प्राप्त नतिजालाई निष्कर्षको रूपमा राखी प्रस्तुत गरिएको छ । यस अध्ययनमा जलवायु परिवर्तनको ज्ञानको अवस्था उच्च रहेका मानिस २७ प्रतिशत, मध्यम रहेका मानिस ६९ प्रतिशत र न्यून रहेका मानिस ४ प्रतिशत रहेका छन् । अध्ययनमा उक्त समस्याबाट फाइदा हुन्छ भन्ने मानिस ५ प्रतिशत, असर हुन्छ भन्ने मानिस ९१ प्रतिशत र फाइदा वा बेफाइदा उल्लेख गर्न नचाहने मानिस ४ प्रतिशत रहेको छ । जलवायु परिवर्तन न्यूनीकरणका लागि गर्न सकिने कार्य अन्तर्गत हरियाली क्षेत्रको संरक्षण गर्नुपर्ने भन्ने मानिस २१ प्रतिशत रहेका छन् भने वृक्षारोपण गर्नु पर्ने विचार व्यक्त गर्ने मानिस ५६ प्रतिशत रहेका छन् । त्यसै गरी पशु चरिचरण बन्द गर्नुपर्ने भन्ने मानिस ३ प्रतिशत, उद्योग बन्द गर्नुपर्ने विचार राख्ने मानिस २० प्रतिशत रहेका छन् । यस अनुसन्धानबाट प्रभावित समुदाय सम्वन्धी अध्ययन गर्दा सहरी समुदायमा ५८ प्रतिशत, ग्रामीण समूदायमा ३४ प्रतिशत र ८ प्रतिशत व्यक्तिमा कुनै पनि प्रभाव नपर्ने तथ्य प्राप्त भएको छ । जलवायु परिवर्तन न्यूनीकरणका लागि फोहोर व्यवस्थापन गर्ने तरिकामा २५ प्रतिशत मानिसले जलाएर, ९ प्रतिशतले खाल्डोमा र ६७ प्रतिशत मानिसले पुनः प्रयोग गरेर व्यवस्थापन गर्ने गरेका छन् । जलवायु परिवर्तन न्यूनीकरणमा नागरिक समाजको १३ प्रतिशत, प्रदेश सरकारको ४ प्रतिशत, सङ्घीय सरकारको १५ प्रतिशत भूमिका रहँदा स्थानीय सरकारको ६८ प्रतिशत भूमिका रहने तथ्य प्राप्त भएको छ । त्यसैगरी जलवायु परिवर्तनका लागि गर्न सकिने कार्य अन्तर्गत सरसफाइ १० प्रतिशत, वृक्षारोपण १२ प्रतिशत रहदा शिक्षा प्रदान गर्नुपर्नेमा ७८ प्रतिशत मत रहेको छ । जस अन्तर्गत प्रत्येक नागरिकलाई जलवायु परिवर्तन यसको प्रभाव तथा न्यूनीकरण सम्वन्धी आवश्यक नीति निर्माण गरी सबै तहका सरकारले शिक्षा तथा चेतनाको माध्यमबाट वृक्षारोपण गर्ने, उद्योग तथा कलकारखानामा वैकल्पिक ऊर्जाको प्रयोग गर्ने, यातायातका साधनको उचित व्यवस्थापन,प्लास्टिकजन्य पदार्थको उत्पादन तथा प्रयोगमा रोक लगाउने, कार्बन लगायतका हानिकारक ग्यास उत्पादन हुने गतिविधिमा रोक लगाउने जस्ता कार्यमा ध्यान दिनुपर्ने र नीति तथा योजना कार्यान्वयनमा विशेष कार्य गर्नुपर्ने देखिन्छ ।