वाँफीकोटको लोकसंस्कृति
DOI:
https://doi.org/10.3126/anweshan.v2i1.68590Keywords:
मस्टो, लागोभागो, साई, लौरू, आलमालAbstract
वाँफीकोट गाउँपालिका नेपालको संविधान, २०७२ बमोजिम नेपालको रूकुम पश्चिम जिल्लाको राजनीतिक विभाजनअन्तर्गत अस्तित्वमा आएका ६ ओटा स्थानीय तहमध्ये एउटा हो । यस भूभागमा खसआर्य र मङ्गोलियन नस्ल सभ्यताका मानवजाति वर्षौँदेखि घनिष्ट सम्बन्ध कायम गरी बसोबास गर्दै आएका छन् । यहाँ सबै नस्ल र जातका मानिसले प्रयोग गर्ने स्थानीय भाषा सिँजाली भाषिकाको प्रभाव रहेको नेपाली भाषा हो । यहाँको संस्कृति कर्णाली सभ्यतामा आधारित छ । यहाँका खसआर्य र मङ्गोलियनको धर्म, स्थानीय देवता, विवाह संस्कार, मृत्यु संस्कार आदि कतिपय विषयमा धेरै जसो समानता रहेको छ । यहाँका खसआर्यको मस्टो र मङ्गोलियनको झाँक्री देवता सर्वश्रेष्ठ छ । यहाँ जात र थरका आधारमा विभिन्न मस्टो र झाँक्री देवतालाई कुलदेवता र इस्टदेवताको रूपमा पूजा गर्ने गरिन्छ । कुलीकपटी, टुनामुना, बोक्सी, मसान, देउराली, स्थानीय देवीदेवता, लागोभागो आदिको कुदृष्टि पर्छ भन्ने अन्धविश्वासको संस्कृति कायम छ । यहाँका मेला तथा चाडपर्व स्थानीय देवीदेवताप्रतिको विश्वाससँग सम्बन्धित रहेका छन् । लोकसाहित्यअन्तर्गत लोकगीत, लोककविता, लोककथा, लोकगाथा, गाउँखानेकथा, उखानटुक्का आदि रहेका छन् । यहाँको मुख्य बाली मकै, गहुँ, धान, कोदो, जौँ आदि हुन् । यहाँ गाई, भैँसी, बाख्रा, कुखुरा आदि पशुपक्षीको पालन गरिन्छ । समग्रमा लोकवार्तामाथि आधारित रहेर यहाँको लोकसंस्कृति निर्माण भएको छ ।