नारायण वत्सको वैदिककालीन नारीको परिचयमा नारीको स्वरूप र सामाजिक भूमिका
DOI:
https://doi.org/10.3126/anweshan.v1i2.65458Keywords:
आनन्दस्वरूपिणी, ऐश्वर्यप्रदायक, पराशक्ति, सत्वमयी, साक्षात्Abstract
प्रस्तुत लेखमा नारायण वत्सको वैदिककालीन नारीको परिचय (२०८०) पुस्तकको आधारशिलामा वैदिककालीन नारीहरूका कथामार्फत त्यस समाजमा नारीको सामाजिक अवस्था र भूमिकाको निरूपण गरिएको छ । यसमा वैदिककालीन नारीको सामाजिक स्थान र भूमिकाको मूल्याङ्कन गर्न मानवशास्त्री मोर्गनका मान्यता अनुसरण गर्दै एङ्गेल्सले प्रस्तुत गरेको समाज विकासको चरण र यी चरणमा नारीको सामाजिक स्थान र भूमिका सम्बन्धी मान्यतालाई सैद्धान्तिक मान्यताका रूपमा अनुसरण गरिएको छ । कृतिमा रहेका तथ्यहरूको विश्लेषण र मूल्याङ्कनमा आधारित यो अध्ययन गुणात्मक प्रकृतिको छ । यस पुस्तकले मानवसमाजको आदिम युगमा सृष्टिको निर्माणकर्ताका साथै बुद्धि प्रदायक, ऐश्वर्यप्रदायक, सुरक्षण संहारकका रूपमा रहेर नारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो तथ्यमार्फत वैदिककालीन समाजमा नारीको सामाजिक स्थान र भूमिका सर्वोच्च भएको चिन्तन प्रतिपादन गरेको छ । यस पुस्तकमा आएका वैदिककालीन नारीहरूका कथाहरूले त्यस समयमा शक्तिस्वरूपा ईश्वरीय नारीहरू महाकाली, महालक्ष्मी, महासरस्वती आदि रहेका थिए ।उनीहरूका विविध स्वरूपहरू नै समाज सञ्चालनको प्रमुख शक्तिका रूपमा स्तुत्य रहेको चित्रण गरिएको छ । मानवीय रूपमा आएका नारीहरू पनि सामाजिकरूपमा सम्मानित नै रहेका थिए । तर उनीहरूको भूमिका एकनिष्ठ विवाह अन्तर्गतको पारिवारिक दायित्व निर्वाहमा बढी केन्द्रित हुँदै गएको अवस्थालाई चित्रित गरेका छन् । यस कृतिमा प्रस्तुत नारीपात्रहरूका कथामार्फत वैदिककालीन समाजको अध्ययन गर्दा समाज विकासको आदिम युग मातृसत्तात्मक रहेको चित्रण गरिएको छ । यसबाट आर्थिक, सामाजिक, शैक्षिक लगायत सबै संरचनाकोकेन्द्रमा नारीहरू रहेको स्पष्ट हुन्छ । समाजमा क्रमशः विकसित भएका विवाह र एकनिष्ठ पारिवारिक संरचनाको विकाससँगै समाज बिस्तारै पितृसत्तात्मक युगमा अगाडि बढेकाले नारीको सामाजिक, आर्थिक आदि स्थान र भूमिका खुम्चिँदै गएको अवस्थाको मूल्याङ्कन भएको छ ।