नेपाली रत्यौली गीतको वस्तुयोजना
DOI:
https://doi.org/10.3126/vangmaya.v21i1.74213Keywords:
अश्लीलता, नारीका पीडा, रतिराग, व्यावहारिक शिक्षा, हास्यव्यङ्ग्य अभिनयAbstract
प्रस्तुत लेखमा नेपाली रत्यौली गीतको वस्तुयोजनाको अध्ययन गरिएको छ । विभिन्न जिल्लामा रत्यौली गीत गाउने महिलाहरूबाट रत्यौली गीत सङ्कलन गरिएको छ र त्यसलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ । यस्ता सामग्री क्षेत्रीय अध्ययन विधिबाट सङ्कलन गरिएको छ । रत्यौली गीतको अवधारणा र विश्लेषणको ढाँचा निर्माणका लागि रत्यौली गीतका बारेमा गरिएका अध्ययनलाई द्वितीयक स्रोतको सामग्रीका रूपमा प्रयोग गरिएको छ । यस्ता सामग्री पुस्तकालय कार्यबाट सङ्कलन गरिएको छ । दुलहा अन्माइसकेपछि दुलहाका घरमा महिलाहरू जम्मा भई स्त्रीपुरुषका बिचको प्रेमलीला, रतिरागमा आधारित भई अभिनय गर्दै नाच्दै गाइने संस्कारसम्बद्ध लोकगीत रत्यौली हो । रातभरि गाइने तथा रतिरागात्मक एवम् अश्लीलता पाइने भएकाले रत्यौली गीत भनिएको हो । सहभागिताका दृष्टिले
नारीमात्र सहभागी हुने रत्यौली गीतलाई रतेउली, रतेली आदि पनि भन्ने गरिएको पाइन्छ । रत्यौली गीतको विश्लेषणका लागि वस्तुयोजनाअन्तर्गत वस्तुको आदि, मध्य र अन्त्य भागमा गाइने रत्यौली गीतलाई प्रस्तुत गरिएको छ । रत्यौली गीतको आदिभागमा दुलहा अन्माउने वेलामा माङ्गलिक भाव प्रकट हुने गीत गाइन्छ । मध्यभागमा बढी मात्रामा रतिराग, प्रेम, व्यङ्ग्य आदि प्रकट हुने गीत गाइन्छ । अन्त्यभागमा माङ्गलिक, संस्कारजनित भाव व्यक्त हुने गीत गाइन्छ । विवाहका उत्सवका दिन गाइने रत्यौली गीतको वस्तुमा पाइने हास्यव्यङ्ग्यात्मता, अभिनयात्मकता, नारीका पीडा, शृङ्गारिकता, रतिरागात्मकता, अश्लीलता, संस्कार र व्यावहारिक शिक्षा आदि विषयको विश्लेषण गरिएको छ ।
यी अध्ययनका आधारमा रत्यौली गीत नेपाली समाजमा विवाह उत्सवका वेलामा मनोरञ्जनका लागि नारीहरू दुलहाका घरआँगनमा जम्मा भई गाइने संस्कार गीत भएको निष्कर्ष निकालिएको छ ।