पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना
DOI:
https://doi.org/10.3126/vaikharivani.v2i2.79242Keywords:
अधिशासन, कारक सङ्केतन, कारक परीक्षण, कारक परिष्करण, विभक्तिAbstract
प्रस्तुत लेख वैयाकरण पाणिनि (इ.पू.पाँचौं शताब्दी) र आधुनिक भाषावैज्ञानिक अभ्राम नोम चम्की (जन्म, सन् १९२८) द्वारा प्रस्तुत कारकसम्बन्धी मान्यताको तुलनात्मक अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा पाणिनि र चम्स्कीद्वारा प्रस्तुत कारकीय मान्यताको वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनको तुलना गरी प्राप्त भएको निचोड प्रस्तुत गरिएको छ । विश्लेषणात्मक र तुलनात्मक विधिको उपयोग गरी पाणिनि र चम्स्कीका कारकीय मान्यताको तुलना गर्दा प्राप्त भएको निष्कर्ष के हो भने पाणिनि र चम्स्की दुवैले क्रियासित प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित भएर प्रयोग हुने नामिक पदले पाउने प्रकार्यात्मक भूमिकालाई कारक मानेका छन् । क्रियाका आधारमा आन्तरिक तहमा कारकको निर्धारण हुन्छ भन्ने कुरो पाणिनि र चम्स्की दुवैले स्विकारेको देखिन्छ तर बाह्य संरचनामा कारकको उपस्थिति कसरी हुन्छ भन्ने विषयमा चाहिँ यी दुईबिच केही फरक मत छ । पाणिनिले नामिक पदमा कारकीय भूमिका समायोजनका लागि क्रियाको अर्थलाई समेट्दै बाह्य तहमा संरचनागत सम्बन्ध (विभक्तिसंयोजन)लाई मुख्य आधार बनाएका छन् । यस आधारमा उनले कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण गरी छओटा कारक स्वीकार गरेका छन् । पाणिनिका अनुसार कर्ता, कर्म र सम्प्रदान (गौण कर्म) बाहेकका अन्य कारकले क्रियाविशेषणको प्रकार्य गर्दछन् । उनले क्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित नहुने भएकाले षष्ठी विभक्ति लागेका नामिक पदमा कारक समायोजन नहुने र यस्ता पदहरू सम्बन्धबोधक विशेषणका रूपमा रहने निष्कर्ष प्रस्तुत गरेका छन् । चम्स्कीले चाहिँ आन्तरिक संरचनाका तहमा नामिक पदमा कारक समायोजन अभिलक्षण रहने र बाह्य संरचनामा प्रयुक्त भएपछि मात्र तिनले अधिशासन सम्बन्ध (संरचनात्मक सम्बन्ध) का आधारमा कारकीय भूमिका प्राप्त गर्ने बताएका छन् । चम्स्कीका अनुसार संरचनात्मक सम्बन्धका आधारमा कर्ता, कर्म, तिर्यक् र सम्बन्ध गरी चारओटा कारक छन् । चम्स्कीले पाणिनिले उल्लेख गरेका करण, सम्प्रदान, अपादान र अधिकरणलाई तिर्यक् कारकअन्तर्गत समावेश गरेका छन् र क्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका सम्बन्धबोधक नामिक पदमा पनि कारक समायोजन हुने बताएका छन् । यसरी चम्स्कीले सम्बन्धबोधक पदलाई नामिक पदका रूपमा स्विकारेर त्यसमा कारक समायोजन हुने बताए पनि अन्य कारकको समायोजन प्रक्रिया र तिनले सङ्केत गर्ने व्याकरणिक प्रकार्यसम्बन्धी मान्यता भने पाणिनिसँग समान छ । यसरी उपर्युक्त तथ्य र चम्स्की स्वयम्ले पाणिनिको व्याकरण पढिसकेपछि कारक सिद्धान्त प्रस्तुत गरेकाले उनको कारकसम्बन्धी मान्यतामा पाणिनिको प्रभाव परेको छ भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Vaikharivani

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.