मधेसतिर कथामा सीमान्तीयता {Marginality in the story towards Madhes}
DOI:
https://doi.org/10.3126/tribj.v1i1.53586Keywords:
सीमान्तीय मैत्री, भौतिक, भाषागत, प्रतिनिधित्व, परिवेशगतAbstract
प्रस्तुत लेखमा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको मधेसतिर कथामा प्रयुक्त पात्रहरूको सीमान्तीयताको प्रतिनिधित्वका आधारमा अध्ययन विश्लेषण गरिएको छ । सीमान्तीय भनेका निर्धा, निमुखा, ओझेलमा पारिएका, हेपिएका, दबाइएका शोषित, पीडित, दलित अधीनस्थ, पाखा पारिएका, आवाजविहीन तथा इतिहासविहीन व्यक्ति, समुदाय, समाज, जाति, क्षेत्र आदि हुन् । पात्रहरूको प्रतिनिधित्वलाई भौतिक प्रतिनिधित्व र भाषागत लेखनका आधारमा गराइने प्रतिनिधित्व गरी दुई आधारमा छुट्टाएर भौतिक प्रतिनिधित्वलाई पनि पात्रगत प्रतिनिधित्व, परिवेशगत प्रतिनिधित्व र विचारधारात्मक प्रतिनिधित्व गरी विभिन्न उपशीर्षकहरूमा छुट्टाई अध्ययन गरिएको छ । प्रमुख, सहायक र गौण सबै पात्र सीमान्तीय भएकाले कथामा सीमान्तीयताको भरपुर प्रतिनिधित्व भएको छ । सामाजिक संरचनाले सीमान्तीय बनेकी विधवामा पुनर्विवाह गरेर नयाँ जीवनको सुरुवात गर्ने इच्छा भएर पनि हिन्दू धार्मिक र पितृसत्तात्मक विचारधाराले बसेकै ठाउँमा सहजतापूर्वक पुनर्विवाह हुने अवस्था नभएपछि घर मात्र होइन गाउँ नै छोडेर हिँड्न बाध्य भएकी छ । नेपाली सामाजिक संरचनाअनुरुप पुरुषले नै आयआर्जनको उत्तरदायित्व बहन गर्नुपर्ने बाध्यताअनुसार बूढो, गोरे, भोटे, धने जस्ता पात्रहरू पैसा कमाउन र पेटभरि खान पाउने आशामा आफ्नो जन्मथलो छोडेर मधेसतिर जान बाध्य भएकाले उनीहरू पनि सीमान्तीय पात्र हुन् । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको छ। प्रस्तुत कथामा भाषाका माध्यमबाट पनि सीमान्तीयताको प्रतिनिधित्व गराइएको छ । समग्रमा भन्नुपर्दा मधेसतिर कथा सीमान्तीयताको पात्रगत, परिवेशत, विचारधारात्मक तथा भाषागत सबै दृष्टिले प्रतिनिधित्व भएको कथा हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।